भोटको के कुरा

Ratna Mani Nepal | June 15, 2015

पार्टी वार्तामा जुटेको समय थियो । त्यसैले पार्टी खुला थियो । देशका ठाउँठाउँमा खुला आमसभा भइरहेका थिए । त्यसैक्रममा बिर्तामोड नजिक अग्रसेन भवन अगाडि पनि एउटा आमसभाको आयोजना भएको थियो । व्यापक भिडमा राकेश पनि चौरको माझमा साथीहरुसँगै पलेटी मारेर बदाम खाँदैे थियो ।

आमसभाको भोलिपल्ट ऊ साबिकझैं पढाउन गयो । प्रिन्सिपलको कोठामा पसेर हाजिर खाता पल्टायो । आफ्नो नामको खुला सफा चौरमा रातो झण्डा हल्लिरहेको देख्यो ।

उसको अघिल्लो दिनको हाजिरीमा प्रिन्सिपलले रातो लगाइदिएका थिए । राकेशले सोध्यो, “सर, किन रातो ?”

प्रिन्सिपलको नाक चुच्चो तर राम्रो थियो । ऊ प्रायः तेल लगाइवरी कपाल कोरेर आउँथ्यो । उसले भन्यो, “तपाईं  कसैलाई पनि भनेर जानु भएन । न बिदा फर्म भर्नु भो, न फोन गरेर आउँदिन भन्नु भो । अनि त लाग्छ नि रातो ।”

राकेशको अनुहार कालो मोसो दलेको भन्दा थोरैमात्र कम कालो भयो । प्रिन्सिपलको कुर्सी पछाडिको भित्तामा कविहरु झुन्डिएका थिए । राकेशले हातका औंला पड्कायो । जति गरेपनि बुढीऔंला पड्किएन । उसको मनको तर्क थियो – प्रिन्सिपलले हिजोको आमसभाको अर्थ बुझेनन् या उनी आमसभा गर्ने पार्टीप्रति पूर्वाग्रह राख्छन् । उसले भित्तामा झुन्डाइएका कवि रिमालको फोटो हेर्दै भन्यो, “रातो चाहिँ नलाएर खालि छोडेको भए हुने सरले ।” उसका आँखा चिप्लिएर कवि लेखनाथको फोटोमा आइपुगे । यता प्रिन्सिपलले आफ्नो टेबलको रातो मसी भएको कलम कदापि खोलेनन् ।

“राकेश जी — तपाई रातो पार्टीको कार्यक्रममा जानुहुन्छ अनि रातो धर्सो देखि आत्तिनु हुन्छ । यो त कुरै बुझिएन नि,” चैतमा पनि ज्याकेट लगाएर स्कुल आउने, अलजेब्राका दक्ष शिक्षक मानिने कृष्ण सरले पहिलो र दोस्रो घन्टीको बीचमा जिस्क्याए ।
राकेशले भन्यो – “यी दुई बीचमा ताङ्खिवक भिन्नता छ, कृष्ण सर ।”
त्यो दिन उसले कक्षा लिएन । भोलिपल्ट ऊ पन्ध्र मिनेट ढिलो गरी स्कूल पुग्यो । उसैगरी राता धर्साहरु हिजो र आज दुवै दिनको हाजिर गर्ने ठाउँमा टाँसिएका थिए ।
उसले पढाउन छोड्ने निर्णय गर्यो । बिहान बेलुका भैंसी र गाई पाल्ने, गोरू जोत्ने अनि भ्याएसम्म पार्टीका कार्यक्रममा भाग लिने गर्न थाल्यो । तर अचानक एक वर्ष पनि नपुग्दै पार्टीले भूमिगत हुने र सशस्त्र युद्ध छेड्ने नीति लिएपछि उसले सुत्केरी श्रीमतीलाई सम्झाउन सकेन ।
उनान्साठी साल र साठी सालभरी चन्द्रगढीमै बसेर अर्ध भूमिगत रुपमा काम गर्यो । जब प्रहरीले अलिक बढी दुःख दिने निश्चित भयो ऊ भूमिगत रुपमै काठमाडौँ  हानियो । श्रीमती र आमाबाबु आफैँले कुरा बुझे ।
काठमाडौँमा ऊ घट्टेकुलोको लालीगुराँस मार्गमा चन्द्रगढीकै केटाहरुसँग डेरामा बस्थ्यो । महिनाको ४ सय डेरा भाडा दिन्छु भन्यो तर ती केटाहरुले उसको चौध महिनाको बसाइमा मुस्किलले दुई हजार पाएका थिए । यो कुरा ललित भाइलाई सोध्दा हुन्छ । ती भाइ अहिले पाटनमा एमएस्सी पढ्दैछन् ।
ऊ बिहान झिस्मिसेमा हिँड्थ्यो र राती अबेर आउँथ्यो । कहिले काँही दुईचार दिनै हराउँथ्यो । पाँच दलको प्रतिगमन विरोधी जुलुसहरुमा गएको पनि देखिन्थ्यो । पछि सात दलका हरेक कार्यक्रममा उसले भाग लियो ।
२०६२ मंसिरमा दिल्लीमा बाह्र बुँदे सम्झौता र विस्तृत शान्ती सम्झौता भएपछि उसका धेरै सजिला दिन आए । ऊ किर्तिपुरमा डेरा सर्यो । अन्तरिम सरकार बनेपछि जुत्ता फेर्यो र नियमीत रुपमा दालभातको साथमा मासु खान थाल्यो । नियमित मासु खाने बानीको बारेमा किर्तिपुरमा पढाउने एक प्राध्यापकलाई उसले भनेको थियो “सहरमा दुस्मनहरुसँग लड्न इनर्जी चाहिन्छ सर । त्यसकारण छाकमा एकसयग्रामजति मासु त हामीलाई चाहिन्छ चाहिन्छ ।” ती प्राध्यापकले मुसुमुसु हाँस्नु सिवाय अरु केही गर्न सकेका थिएनन् । उसले बिस्तारै घरमा समेत दुईचार हजार पठाउन थाल्यो । पछि राजनीतिशास्त्रको विद्यार्थी भएपछि बस्नको समस्या झनै परेन । त्रि. वि. को होस्टलमा बस्न पायो र खाना त्यहीं मेसमा खान थाल्यो । उसका गाला चिल्ला भए ।
त्यही राकेश चुनावको मुख पारेर नाइट बसबाट चन्द्रगढी झरेको हो ।
उसले सबैभन्दा पहिले त आफ्नो गाउँ वरपरका कसकसलाई फकाउने र कसकसलाई थर्काउने भन्नेबारे सोच्यो । छिमेकमा एकजना काँग्रेसी थियो । उसलाई सम्झ्यो । त्यो काँग्रेसीले पचास सालदेखि नै उसलाई निकै तंग गरेको थियो । ऊ कम्निष्ट भन्ने देखिसहँदैनथ्यो । “तँ मेरो छिमेकी भ’र पनि कसरी कम्निष्ट भइस्, ए राकेश,” उसले राकेश नौ कक्षामा पढ्दै भनेको थियो ।
एकाउन्न सालको चुनावमा राकेश अठार वर्ष पुगिसकेको भए पनि भोटर लिस्टबाट नाम कटाउने उही थियो । तर पछि उसले उसको घरैमा गएर भन्यो,”तँ कम्निष्ट् कम्निष्ट् भन्थिस् नि हेरिस् कम्निष्ट्ले तेरो नाम राखे त । ल हेर मेरो १४ वर्षको हलीको समेत मैले दर्ता गराइदिएँ ।”
उसले कुरो त बुझेको थियो तर प्रतिवाद गर्न उसको वशको कुरो थिएन । किनभने ऊ आफ्नोमा पनि जोतखन गथ्र्यो र कहिले काँहि तिनै काँगे्रसीकोमा समेत गोरू लिएर जोत्न जाने गथ्र्यो ।
राकेशले अरुलाई पनि सम्झ्यो र नाम लिस्ट तयार पार्यो ।
१. छिमेकी काँंग्रेसी
२. नमुना बोर्डिंग स्कुलको प्रिन्सिपल
३. राँगा गोरूको व्यापार गर्ने रामोतर
४. काठ ठेक्का पट्टा गर्ने राजेन्द्र
५. सुकुम्बासी टोल
६. मुसहर टोल
७. कर कार्यालयको खरदार
राकेशले सबभन्दा पहिले छिमेकी काँग्रेसी कहाँ जाने निधो गर्यो ।

ऊ पुग्दा काँग्रेसी कोठामा थियो । ऊ फोनमा कुरा गरिरहेको राकेशले दुई तले घरको माथ्लो तल्लाको बरण्डामा बसेर सुन्यो ।
“हैन, कमरेड, हजुरले यो गाउँको चिन्ता लिनै पर्दैन । मैले सबै ठीकठाक राखेको छु । मुख्यगरी केटाहरुलाई समातेको छु । सबै अल्लारे हजुरको नयाँ पार्टी भन्न थालेका छन् ।”
राकेशले कान कोट्यायो । खासमा “नयाँ पार्टी” र “कमरेड” भन्ने दुईवटा शब्दले उसका कान चिलाएका थिए । ऊ जुरुक्क उठ्यो, अलिकति चासो दिएर सुनेझैं गर्यो । अनि गएर पहिले कै ठाउँमा बस्यो ।
“कमरेड, हजुरले कुनै चिन्ता लिनु पर्दैन । पहिलेको काँग्रेसी टोल अब माओवादी टोल भएको छ । तर एउटा कुरा हजुरले चुनाव जितेपछि देवनीया खोलामा बाँध हाल्ने र मोटरबाटो जोड्ने दुईवटा काम चाहिँ पक्का भन्दिनुपर्छ । हस् कमरेड … हस्, लाल सलाम ।”
राकेशले दाहिने गोडा निकै मज्जाले हल्लायो । बरण्डा समेत अलिअलि हल्लिएको चुइँचुइँ आवाज आयो । उसलाई चुर्ना परेका थिएनन् तर ऊसको अवस्था त्यस्तै थियो । घरको सिलिङ हेर्यो सखुवाका चिल्ला तख्ताले बनाइएको थियो । चारैतिर काठैकाठले बारेको घर सुन्दर थियो । भुइँ तल्ला सिमेन्टको पक्का थियो । आँगन सिमेन्टको ढलान गरिएको चिल्लो थियो । पक्की गोठमै जर्सी गाईको मल फाल्दै थियो एउटा केटा ।
काँग्रेसी कोठा बाहिर निस्कियो । राकेश बसेको ठाउँबाट उठेन । “एइ तँ कहिले आइस् ?” काँग्रेसीले भन्यो ।
राकेशको अनुहार रातोकालो भयो । उसले दुवै हात कम्मर पछाडि बाँध्यो ।
“हिजो,” उसले भन्यो ।
“ल अब तँ पनि आइस् भने झन् राम्रो भो । हेर, यो गाऊँ अहिले सबै हाम्रै कब्जामा छ । एकादुईको कुरा छोड् । त्यो मालपोतको खरदार अलिक बाउँडिएको छ । पुराना काँग्रेसी दुर्गाको म भन्न सक्दिन तर नयाँ केटाहरु सबैलाई मैले पालेकै छु” काँग्रेसीले काठको कुर्सीमा बस्तै भन्यो ।
राकेश केही बोल्न खोज्थ्यो तर के भन्ने त्यो नै बिêसन्थ्यो । उसले काँग्रेसीसँग आँखा जुधाउन सकेन । उसका आँखाहरु चारैतिर भागिमात्र रहे । उ खुट्टा हल्लाइरह्यो । हात पनि कतिखेर नाक समात्न आइपुग्थे । कतिखेर भुँडीछेउमा बाँधिएका भेटिन्थे । उसले एक्कासी प्रश्न गर्यो –
“तपाइँ कहिलेदेखि माओवादी हुनु भो ?” काँग्रेसीले उसलाई झस्किएजसरी हे¥यो । उसका छिरलिएका आँखीभौं र निकै ठूला आँखा थिए । आँखाका दुवै छेउ राता भएका थिए । निधारमा चिट्चिट् पसिना आएका थिए । आधा रातो र आधा कालो अनुहार भएको थियो उसको ।
“तँ कहिलेदेखि नि ? फूच्चा ।” उसको आवाज निकै ठूलो थियो । नाकका पोरा फाटिँदै खुम्चँदै गर्दै थिए । ऊ खाटमा बस्यो अनि भित्तामा टाँसिएको कुर्सीमा खुट्टा अड्यायो । एकैछिन पछि उसले खुट्टा भुइँमा झार्यो ।
राकेश केही बोलेन । उसको जीब्रो सुकिसकेको थियो ।
एउटी सानी केटीले चिया ल्याई । राकेशले अनेक अनुमान गर्दा पनि त्यसलाई चिन्न सकेन । त्यो काली थिई । नाकमा सिन्को गाडिएको थियो । पातलो सेतो सर्ट, नीलो फ्रक लाएकी थिई । हातका औँला साना थिए । राजवंशी या सतारकी छोरी जस्ती  । चिया दिएर दुवैलाई नमस्ते गर्दै ऊ गई ।
एकछिन त्यहाँ मौनता छायो । काँग्रेसी निस्फिक्री थियो । राकेश भने अररो भएर बसेको थियो ।
काँग्रेसीले उठ्तै भन्यो “ल फोटा हेर्छस् । ल हेर ।” उसले कोठाको भित्तो देखाउँदैे भन्यो “हेर्यी  चश्मा लगाका मार्स, यी लिनिन, यता दारी फालेका माउ । यी त हाम्रै पर्चण्ड भैहाले ।”
राकेशले भित्तामा हेर्यो र काँग्रेसीको अनुहार पनि हेर्यो । उसको अनुहार पहिलेको जस्तै रातो थियो ।
“म जान्छु,” राकेशले उठ्न खोज्दै भन्यो । “ल,” काँग्रेसीले तुरून्तै बिदा दियो ।

राकेश सरासर घर गयो । उसलाई खाना त्यति राम्रो रूचेन । कचौरामा हालिएको मोइमा पनि तर लागेजस्तो देख्यो । गन्हायो पनि ।
ऊ भान्साबाट निस्किएर ओछ्यानमा पल्टियो । टिनमा कालो लत्पतिएको थियो । माकुराले बनाएका जालाहरु भलिब्लको नेटजस्तै देखिन्थे । छानामा सानासाना छिद्रहरु पनि थिए तर तिनबाट आकाश देख्न सकिंदैनथ्यो ।
“म किन जुरूक्कै उठेँ,” उसले मनमनै आफैँलाई प्रश्न गर्यो । कोल्टे फेर्यो । “मैले त्यसो गर्नु गल्ती थियो । उसलाई तिमी सामन्ती हौ, जनवादी होइनौ भन्नु पर्थ्यो  तर किन भनिनँ ?” ऊ निकै छट्पटायो ।
“त्यो बेला उसको घरमा राजा महेन्द्र, वीरेन्द्र, वीपी, रानी ऐश्वर्यका फोटा थिए । त्यो वेला उसको घरको छानामा चारतारे झण्डा हल्लिरहेको हुन्थ्यो ।” राकेश सोच्तासोच्तै झकायो ।
उठ्ता श्रीमती छेवैमा थिई । उसको अनुहार पिटाइ खाएको केटाकेटीको जस्तो थियो । हातमा एउटा रातो चुरो थियो । कान निकै छोटा र पातला थिए । उसले सोधी, “गार्मेन्टमा कुरा गर्न जानु भयो ?” मसिनो आवाज थियो उसको । “हँ, चुनाव त सकियोस्” राकेशले अल्छी मान्दै भन्यो । श्रीमती तुरुन्तै कोठाभित्र पसी । उसको पेट सामान्यभन्दा अलिक उठेको थियो ।
लगभग एक घन्टा निदाएपछि ऊ टहल्न भनी घर बाहिर निस्कियो ।
घर छेवैको मोति चोकमा बिजुलीको ट्रान्सफर्मरलाई नियाल्यो । त्यो अझै पुरानै ट्रान्सफर्मर थियो । त्यसमा चार पटक फ्युज उडेर फेरिएको थियो । “यो नयाँ ल्याउनु पर्छ,” उसले सोच्यो ।
गाउँतिर आँखा घुमायो । काठका घरहरु धमाधम सिमेन्टका बन्दै थिए । उतिबेला धान, मकै, गहुँ फल्ने खेत बाँझै थिए । मानिसहरुले खेती गर्न, तरकारी लाउन छाडेका थिए ।
ऊ लेखनाथ चोकतिर लाग्यो । कौवा खाडीदेखि एकसय मिटर अगाडि रामोतरको घर थियो । त्यो एक तला पक्का घर र वरपरका नरिवल, बकाइना र अम्बकका बोटहरुलाई उसले टाडैबाट देख्यो । घर छेउ आइपुगेपछि उसले त्यहाँ पस्ने निर्णय गर्यो ।
आँगनमा कुखुराहरु चरिरहेका थिए । गाई बाँध्ने गोठछेउमा दुईवटा सिल्वरका भाँडा लडिरहेका थिए । बकाइनाका पात, परालका त्यान्द्रा र सुकेको गोबरले आँगन छिर्केमिर्के देखिन्थ्यो ।
“रामोतर दाइ,” राकेशले बोलायो । ऊ मूल ढोका र झ्यालबाट एकैचोटी भित्र हेर्ने प्रयास गर्दैथियो ।
झ्यालबाट एउटी महिलाले चियाई । उसले नाकमा फूली लगाएकी थिई । अनुहार कालो थियो । कपाल तेल दलेर चिप्लो भएको थियो ।
“दाइ त हुनुहन्न,” बाहिर निस्किएकी त्यो काली आइमाइले भनी ।
“ए, कहाँ जानु भो ?”
“इन्डिया जानु भ’छ दो चार दिनको लागि ।”
“मलाई चिन्नु भो ?” उसले खाटमा बस्न खोज्दै भन्यो ।
“चिनेन मैले त,” लजाएको डराएको अनुहार पारेर उसले भनी ।
त्यहाँ अरु दुईवटी आइमाई भित्रबाट आइपुगेका थिए । तीमध्ये एउटी निकै बुढी थिई । अनुहारमा मुजा परेका थिए । हात निकै मसिना थिए । खैरो–हरियो रङ्को सारी टाउकोसम्म ओढेकी थिई । अर्की एउटी सारीको एकछेउ टोकिरहेकी थिई । सिउँदोमा सिन्दुर थियो ।
“म पल्लो गाउँको राकेश ।”
“ए नाम त सुनेको थियो ।” उसले निकै गम्भीर अनुहार बनाई । र, भनी, ”के चुनाउका लागि आउनु भएको काठमाडुबाट ।”
“हो । अनि के छ यसपटक ? भोट कसलाई हाल्ने सल्लाह छ?” उसले रातो सारी लगाएकी आइमाइलाई पुलुक्क हेर्दै सोध्यो ।
“भोट त दाजुलाई नै थाहा हुन्छ । हामी त के,” दुईजना आइमाई केही पनि बोलिरहेका थिएनन् ।
“केही सल्लाह त भयो होला नि । चुनाउ आइसक्यो ।”
उसले दुईहातले सारीको फेर तानेर गुचुमुच्च पार्दै भनी, “दाइले भन्नुहुन्थ्यो यसपटक त माओवादीलाई भोट हाल्नुपर्छ भनेर । नयाँ पार्टी हो । सहयोग पनि गर्र्छ भोलि पर्दावर्दा,” उसले सारीको गुचुमुच्च पर्दै गरेको फेरमात्र हेरिरही ।
एकछिन राकेश केही पनि बोलेन । ऊ गम्भीर भएर उनीहरुलाई हेरिरहेको थियो । आँगनमा कुखुरा उसैगरी चरिरहेका थिए । तर एउटा नयाँ भाले त्यहाँ देखिएको थियो । त्यसको जीउ छरितो र अग्लो थियो । ऊ जहाँजहाँ जान्थ्यो त्यहाँबाट चरिरहेका पोथी र चल्ला भागेर अर्को ठाउँ जान्थे ।
उसले फेरि भनी – “दाइले कति सहयोग पनि गरेको छ माओवादीलाई । तपाइँहरुको गाउँको त्यो नेउपाने दाइलाई चन्दा दिएको छ दाइले । खाना पनि खुवाएको छ ।”
राकेश झसङ्ग भयो । नेउपाने उही काँग्रेसी थिए जसले उसलाई फुच्चे भनेका थिए । उत्सुक भएर सोध्यो, “नेउपाने दाईलाई किन दिएको चन्दा ?”
“उहाँ नै त नेता हो नि माउवादीको । आफैं आएर पार्टीलाई चन्दा भन्नुहुन्छ । दाइले दिनुहुन्छ ।”
“कति दिनुहुन्छ?”
“कहिले पचास हजार भन्छ, कहिले एकलाख भन्छ । तर आजभोलि त एकहजार दुईहजार मात्र दिन्छ दाइले ।” राकेश चूप लागिरहेको थियो । उसले फेरि भनी, “सबै रसिद राख्नुभएछ दाइले ।”
राकेशले असजिलो गरी टाउको घुमायो । उसका आँखा आँगनको डिलको अम्बकको बोटमा ठोक्किए । त्यो बोट टुप्पोतिरबाट सुक्दै आउँदै थियो ।
ऊ खाटबाट उठ्न खोज्यो तर उठिहालेन् । एकोहोरोजस्तो भएर भुइँमा हेर्यो । भुइँमा पान खाएर थुकेको रङ आधा रातो र आधा खैरो थियो ।
“अरु पार्टी आउँदैनन् भोटको कुरा गर्न ?” राकेशले हिंड्ने बेलामा सोध्यो ।
“खोइ कोही पनि आएको छैन ।”
राकेश नमस्कार गरेर त्यहाँबाट हिड्यो ।

लेखनाथ चोकमा चारैतिर वाल पेन्टिङ् गरिएको थियो । एमाले, काँग्रेसका ब्यानर र वाल पेन्टिङहरु निकै कम थिए । एक दुई ठाउँमात्र उसले सूर्य र रुख देख्यो । बाँकी आफ्नै पार्टीको प्रचारले चोक सिँगारिएको थियो । उसको हिडाइमा निकै फुर्ती थपियो ।
गाविस भवन अगाडि माध्यमिक विद्यालय थियो । दिउँसो त्यो विद्यालयका आधाजसो शिक्षक बाटो छेउको चिया पसलमा भेला हुन्थे । उनीहरु खनाल दाइलाई चना फ्राइ गर्न लगाउँथे । त्यसमा चिउरा प्याज समेत मिसाउन लगाएर खान्थे । अन्त्यमा दुध हालेको चिया पिउँथे । चियाखाजा खान लाग्ने लगभग आधा घन्टाको समयमा उनीहरु संविधान सभाको चुनावका विषयमा कुरा गरेर बिताउँथे । खासगरी सतचालीस सालपछि ती प्रबुद्ध शिक्षकहरु त्यो पसलमा नियमित चियाखाजा खान्थे र मुलुकको विषयमा निरन्तर चिन्तित बन्थे ।
राकेश पनि छेवैमा चिया पिउन बस्यो । शिक्षकहरु उसलाई घरिघरि हेर्थे अनि आफ्नो बहसमा जुट्थे ।
“माओवादीको जम्मा चार सिट । ल, त्यहाँ भन्दा बढी ल्याएछ भने मलाई भन्नु” लामो नाक र अनुहारभरि दागैदाग भएको अग्लो शिक्षकले भन्यो ।
एकछिन् सबै मौन भए ।
“बाबुराम, प्रचण्ड, वैद्य र बादल । चार जना” उसले चम्चाको चनाचिउरा मुख नजिक लग्दै भन्यो ।
“त्यसो त नभनौं तर बढीमा १०–१५ सिट हो माओवादीको,” अर्का शिक्षकले सामान्य प्रतिवाद गरे । उनले चस्मा लगाएका थिए । निधारमाथि कपाल खुइलिएर दुईचार त्यान्द्रामात्र लतारिएका थिए । उनी लामो समय विद्यार्थीहरुलाई भूगोल र राजनीति पढाएर पाकेका जस्ता देखिन्थे ।
“भोट कसले दिने ? हिजोको आजै सबै बिर्सेका त छैनन् नि जनताले ?” उनले आफ्नो विश्लेषणलाई थप पुष्टि गरे । छेवैमा दुवै हातले चियाको गिलास समातेर बसेका शिक्षक उनीहरुका कुरामा टाउको हल्लाउँदै थिए । उनले सेतो सर्टमाथि खैरो जुवारी भिरेका थिए । उनै खल्वाट शिक्षकले भने, “एमालेलाई टाउको कटुवाको पार्टी भनेर मान्छेले आज पनि भन्छन् । ऊ बेलाको कुरा हो त्यो । माओवादीको त अस्तिको कुरा ।”
“हो त । केटाकेटीले समेत त्यही भन्छन्,” चस्मा लगाउने शिक्षकले थपे । उनी बोल्न सुरु गर्दा चस्मा दाहिने हातले खोल्थे र अरुका कुरा सुन्न परे देब्रे हातले कानमा चस्मा अड्याउँथे ।
राकेशले लगभग चिया पिइसकेको थियो । तर पनि उसको कुरा सुन्ने उत्सुकता भने घटेको थिएन ।
“जसरी भए नि काँग्रेसलाई नै फाइदा । वाम–वाम भिड्ने, काँग्रेस फाइदा लिने,” जुवारी लाउने शिक्षकले भने । चुच्चो नाक भएका शिक्षक चिया खान लाग्दै थिए । चियाको कप टेबलमा राख्दै उने थपे –
“मैले भनेकै त्यही । एमालेको भोट माओवादीले खर्लप्पै काट्छ । माओवादीका आफ्ना भोटर कति पो होलान र । भनेपछि दुईटैले हावा खान्छन् । कावा खाने कांग्रेस ।”
कालो सर्ट लाएर कुनामा बसेका एकजना शिक्षक बाहेक सबै गल्ल हाँसे । राकेशले सबैलाई आँखा घुमाएर हेर्यो । एकजना त उसलाई पढाउने गुरू पनि रहेछन् । अरु शिक्षकहरु उसलाई बेलाबेलामात्र हेर्थे । उसको कपाल पनि निकै तातेको थियो । ऊ त्यहाँबाट उठ्न खोज्यो । ऊ हिँड्न लाग्दा मेची क्याम्पसमा नेपाली पढाउने प्राध्यापक साइकल रोकी होटलभित्र छिर्न लाग्दै थिए ।
राकेश सरासर घरतिर लाग्यो ।
शुक्रबारको दिन थियो । बाटोमा चन्द्रगढी बजार जाने आउनेको बाक्लै भिड थियो । बीच बाटोमै उसले छिमेकी साथी भेट्यो । उनीहरु सँगसँगै अगाडि बढे ।
राकेशको घरको काम गर्ने बानी हराइसकेको थियो । ऊ घरमा बरन्डामा सखुवाको खाटमा बस्थ्यो । आठ वर्षकी छोरी छेवैमा बसेर लेखपढ गरिरहेकी हुन्थी । ऊ ढल्केर उसलाई हेरिरहन्थ्यो । बाटोमा मानिसहरु हिँड्डुल गरेको हेथ्र्यो । श्रीमती गाईभैंसीको काम गर्थी । आमाबा पनि गाईभैंसी र खेतको काममा व्यस्त रहन्थे । ऊ बेलाबेला छेउमा जान्थ्यो । कुराकानी गथ्र्यो अनि फर्किएर पुनः बरन्डाको खाटमा बस्थ्यो ।
भेलागुडी जङ्गल माथि एक चोक्टो पहेंलो घाम टाँसिएको देखियो । बाटाहरु चिसा हुँदै थिए । साँझका कीरा कराउन थालेका थिए । शान्ति गाउँका घरहरुमा पिलपिल बिजुली बत्ती बलेको देखिन्थ्यो । राकेश खाटमा ढल्किएर बसेको थियो । एक्कासि बाटोमा उसले निकै ठूलो स्वरले कोही कराइरहेको सुन्यो ।
“ई… माओवादी । भुत्राको माओवादी ।”
राकेश हतपत खाटमा ढल्केर उठ्यो अनि चियाएर हेर्न खोज्यो । कान तेर्साएर बाटातिर पा¥यो ।
“काँग्रेस आयो काँग्रेस । एमाले आयो एमाले । माओवादी आयो माओवादी । मनपरी गर्ने ?”
राकेशले चाल पायो । ऊ त्यति बेचैन पनि भएन ।
उसको छिमेकी एकजना विश्वकर्मा थियो । नाम “मने माइला” । ऊ हप्ताका पाँच दिन गाउँघरमा हलो जोत्ने, दाउरा चिर्ने, खेतको आली लगाउने काम गर्थ्यो । बाँकी दुई दिन भने अलिक विशिष्ट किसिमले बिताउँथ्यो ।
बिहानै राँगोलाई खोले खुवाउँथ्यो । अनि आफू खाना खान्थ्यो । अनि त्यही राँगोलाई सिसौको सानो लठ्ठीले धपाउँदै चन्द्रगढी बजार पुर्याउँथ्यो । सोमबार र शुक्रबार चन्द्रगढीमा बजार लाग्थ्यो । ती बजारका दुईदिन ऊ राँगा काट्थ्यो । मासु बेचिदिन्थ्यो । साहुलाई पैसा दिन्थ्यो अनि बचेको एकदुई किलो मासु र रक्सी झोलामा पोको पारेर श्रीमतीलाई दिन्थ्यो । ऊसले राँगा काटिदिएर बेचिदिए बापत छुट्टै ज्याला पाउन्नथ्यो तर मातुञ्जेल रक्सी पिउन भने पाउँथ्यो ।
रक्सी पिएपछि उसलाई श्रीमतीले पछाडिबाट खेदाउँथी ऊ लुरुलुरु अघिअघि हिड्थ्यो । बिहान ऊ जसरी राँगो धपाउँदै बजार पुग्थ्यो बेलुकी उसकी श्रीमती त्यसरी नै उसलाई धपाउँदै घर ल्याउँथी ।
एकदिन त मने माइलो कौवा खाडी नजिक पुगेपछि खाडी तरेर घरै जान्न भनेर अड्डी लिएछ । बजारतिरै फर्कन खोजेपछि श्रीमतीले अनेक गरी फर्काउन, लठ्ठीले हिर्काइ भैंसीलाई जस्तै, घँचेटी, रोई कराई तर ऊ खाडी वारी नै लमतन्न सुतिदिएछ । बेलुकी साढे सात बजे मात्र ऊ त्यहाँबाट उठेको थियो रे । त्यतिन्जेलसम्म उसकी श्रीमती उसलाई रूँगेरै बसिरही बेला बेला रूँदै कराउँदै ।
बजारबाट लेखनाथ चोक निस्किएपछि मने माइलो गाउँका धेरैलाई गाली गर्दै हिड्थ्यो । केही बेर गीत पनि गाउँथ्यो । थोरै समय चुपचाप हिड्थ्यो ।
लेखनाथ चोकदेखि रामोतरको घरसम्म बस्ती थियो । त्यो बस्ती नकाटिउन्जेल ऊ गनगन मात्र गथ्र्यो । आफैसँग बोल्थ्यो । के बोल्थ्यो स्पष्ट सुनिदैनथ्यो । बुझिँदैन पनि थियो । रामोतरको घर सकिएपछि शान्ति चोकसम्म ऊ प्रायः श्रीमतीलाई गाली गर्थ्यो ।
“राँडी… तँ राँडीले गर्दा त हो …”
“कति कराएको, एक छिन चुप लागे त…”
“तेरो बाउ राँडी… नकरा, तेरा बङ्गारा… अलच्छिनी…”
शान्ति चोक पुगेपछि उसको आवाज अचानक बदलिन्थ्यो । ऊ स्पष्ट बोल्न थाल्थ्यो । आवाज पनि निकै ठूलो हुन्थ्यो । शरीर असन्तुलित हुन्थ्यो । श्रीमती पनि उसलाई केही भन्दिनथी । ऊ पनि श्रीमतीलाई कुनै गाली गर्दैनथ्यो ।
उसको गालीको निसानामा त्यसपछि गाउँका भद्रभलाद्मी, कर्मचारी, शिक्षक र छिमेकी पर्दथे । ऊ हम्मेसी नाम किट्दैनथ्यो तर हरेकलाई कुनै किसिमले गाली गरिरहन्थ्यो ।
“दाजुभाइलाई डसेर घर बना’को कसलाई थाहा छैन ? अहिले फुर्ती … मा ठ्याक्ने … भेलागुडी वनका रुख कल्ले काटो हाम्लाई सोध । एक–एक भन्दिन्छु । खुब साहु हुने ?”
“धनी ? यत्राको धनी । म पनि धनी । मेरो पनि दशधुर जग्गा छ ।”
“ए कति कराको…” श्रीमती कराउँथी ।
“के मैले चोरेको हो र ? काफ्लेका खसी कसले चोर्यो ? मासुभात खाने ? शिवाकोटीका मकै कसले चोर्यो ? खान नपाकाहरु । साला भतुवाहरु ।”
“भयो हौ अब चुप लाग ।”
“पिउनको जागिर खाएर सिड्योको धाक । हवल्दारका बाउले पनि बनाउन सक्दैन नागरिकता । सिड्योको धाक ?”
ऊ यस्तै गाली गर्दै बाटो काट्थ्यो । गाउँबाट बजारतिर जाँदै गरेकाहरु उसलाई हेर्दै हाँस्थे । उनीहरुको मौन स्वीकृतिजस्तो देखिन्थ्यो उसको गालीको । उसले जसलाई संकेत गरेर गाली गथ्र्याे उनीहरु बाटामा भेटिए भने ऊ निहुँ खोज्न थाल्थ्यो । तिनीहरुको अनुहार रातो नीलो हुन्थ्यो । उनीहरु छिट्टै त्यहाँबाट उम्कन खोज्थे । कहिलेकाँही ऊ बाटो छेक्थ्यो र गाली दोहो¥याउन थाल्थ्यो । उनीहरु हतारहतार गोजीमा हात हाल्थे अनि पाँच दस रूपैयाँ निकालेर दिदै भन्थे –
“भोलि दाउरा चिर्दे है माइला ।”
“पर्सी गोरु जोतिदे है ।”
ऊ हात थाप्थ्यो । नमस्ते पनि गथ्र्यो । अनि जब उनीहरु बाटो लाग्थे अनि भन्न थाल्थ्यो, “ईऽदाउरा चिर्छु । म नोकर होे ? भेलागुडीबाट चोरेर ल्या’का काठ म चिर्छु ? यत्रा पनि चिर्दीनँ ।”
राकेशले मने माइलालाई फेरि नजिकैबाट सुन्यो – “पहिले हलोलाई दे भने । पछि रुख, रुख भने । फेरि अहिले हँसिया… त्यो जाबो हँसियालाई त म गुहु पुछेर फाल्दिन्छु ।”
मने माइला घरतिरै आएको देखेर राकेश खाटबाट उठ्यो । बेलुकीको साढे छ बजिसकेको थियो । ऊ कान्तिपुर एफ. एम. खोलेर समाचार सुन्दै थियो । उसले एफ. एम. सानो पार्यो ।
“स्वास्नी छोराछोरी छोडेर भागेर के भयो ? बसीबसी माउवादी भए यहाँ,” आवाज राकेशले आँगनमै सुन्यो ।
“माल्दाइ,” उसले अनौपचारिक ढंगले बोलायो ।
“किन लुक्नु पर्यो । त्यतिकै माउवादी भए कोही करेसा परतिर,” ऊ सिँढी चढ्दै बरन्डामा उक्लियो । राकेशलाई नमस्कार ग¥यो अनि भन्यो – “लाल सलाम हो कि ।” ऊ हाँस्यो ।
मालदाइका पहेंला काला दाँत र रातो अनुहारमा मुजा परेका मासुका लोती प्रष्टै देखिए । अनुहार पसिनाले भिजेको गाढा रातो थियो । केश थोरैमात्र फूल्न बाँकी थिए । अनुहारको आधाजति भागमा सेता दारी ठाडाठाडा भएर उभिएका थिए । पुरानो मैलो हाफ्पाइन्ट र इस्टकोट मात्र लगाएको थियो । इस्टकोटको टाँक नलाएको हुनाले अगाडिको भुँडी प्रष्टै देखिन्थ्यो । नाइटोमा मयल टाँसिएर कालो भएको थियो ।
“हो, हो, लाल सलाम,” राकेशले भन्यो ।
“भुत्राको लाल सलाम । खान चाहियो नि खान । के को लाल सलाम?” हात मुखतिर लैजादै उसले अलिक ठूलो स्वरमा भन्यो ।
“हुन्छ, खान लाउन पढ्न सबथोक हुन्छ,” राकेशले सम्झाउन खोज्यो ।
“आ । त्यस्ता कुरा नगर । हलोले के दियो ? खान दियो ? रुखले एकचोटी ५० रूपैयाँ र अर्कोपटक दश रुपैयाँ दियो । खान दियो ?”
राकेश मुसुमुसु हाँस्दै सुनिरहेको थियो ।
माइलाले फेरि थप्यो – “खायो त छिमेकीले खायो । मलाई के दियो ? कसैको बाउको एक घुट्को खा’को छैन । भुत्राको माओवादी ।”
“को छिमेकी भन्या ?” राकेशले थाह पाएर पनि सोध्यो । “आ । तिमी पनि कुरा गर्छौ । आँखा अगाडि देख्तैनौ । जग्गा किनेको किनै छन् । घर थपेको थपै । पैसा कहाँबाट आउछ ?”
राकेश मौन रह्यो ।
“बुझ पचाउँछौ,” ऊ उठ्न खोज्थ्यो तर हल्लिएर लर्बराउँथ्यो अनि फेरि बस्थ्यो ।
“मैले कसैका बाउको एक त्यान्द्रो खा’को छैन,” छातीमा ड्याम्म हान्यो, “म लुटेर, चोरेर, ढाँटेर खाने होइन । बुताले खान्छु ।”
त्यसपछि ऊ सिँढी ओर्लिएर आफ्नै सुरमा बोल्दै हिंड्यो । राकेश घरभित्र पस्यो ।
भोलिपल्ट बेलुका राकेश बरन्डाको खाटमा पलेटी कसेर बसिरहेको थियो । बाटोमा मने माल्दाइलाई उसले देख्यो । उनी घरतिरै आइरहेका थिए ।
राकेशले देख्यो । ऊ सिंढी चढ्दै हास्तै थियो । आज रक्सी खाएको जस्तो राकेशलाई लागेन ।
“के छ माल्दाइ?” उसले सोध्यो ।
“के हुनु ? खै लेऊ पचास रुप्या,” उसले
भन्यो । राकेश उसको अनुहारमा हेरेर हाँस्यो मात्र ।
“के रक्सी खा’छ भनेको ? खानु पर्या छैन त्यस्तो जाबो झोल । पचास रुप्या लेऊ त । भरे भोलि दिन्छु । त्यहाँ काम परो,” उसले हात फैलाएर माग्यो, “आजसम्म कसैको दुई पैसा खा’को छैन ।”
राकेशले गोजीबाट पर्स निकाल्यो र पचास रुपैंयाको नोट निकालेर माइलालाई दियो । उसले राकेशलाई नमस्ते गर्यो र सिंढी ओर्लियो ।
“बाउको छोराले रक्सी खाँदैन ? कसले नखा भन्छ मलाई ? कसैको बाउको खा’छैन । आफ्नै बाउको खा’छु,” आँगनबाट बाटोमा निस्कँदै गर्दा राकेशले सुन्यो ।
बेलुकी निकै भइसकेको थियो । लगभग सबा नौ बजिसकेको थियो । ओछ्यानमा पल्टिएर मोबाइलमा कुरा गर्दै गर्दा राकेशले सुन्यो –”खान्छु त । लुटेको पैसा त खा’को छैन नि ।”
एकछिन केही आवाज सुनिएन ।
फेरि सुनियो । “ईऽ. सूर्यलाई भोट हाल्छु । रुखलाई पनि हाल्दिनँ । हाले माउवादीलाई नभए हलोमा पो हाल्दिन्छु जङ् चलो भने ।”
राकेश सुत्यो ।
आइतबारको दिन राकेश नमुना बोêडङ स्कूलका प्रिन्सिपललाई भेट्न हिँड्यो । उसको हिंडाइमा निकै आत्मविश्वास देखिन्थ्यो । दुवै हात मजाले हल्लाएको । बाटोको बीचबाट हिडेको । टाउको एकैपटक पनि ननिहुराएको ।
“बदला लिन्छु आज,” उसले मनमनै सोच्यो, “सालालाई थर्काउँछु ।” स्कूलको गेटमा उभिएको पालेले उसलाई हाँस्तै सलाम ग¥यो । ऊ सरासर प्रिन्सिपलको कोठातिर गयो ।
टेबल पछाडिको कुर्सीमा ढल्केका प्रिन्सिपलले चस्मा फुकालेर टेबलमा राखेका थिए । राकेश भित्र पस्नासाथ उनले आँखा खोले र ढल्केरै बसिरहे । राकेशसँग उनका आँखा जुधिसकेका थिए तर पनि उसले नमस्ते गरेको थिएन । प्रिन्सिपलले यो कुरा चाल पाइसकेका थिए ।
उनले भने, “ओ राकेश कमरेड नमस्ते । आज कताबाट ?” राकेशका कान हावा हाल्दा फूटबल उचालिएजस्तै उचालिए ।
“तपाईंलाई भेटौँ, चुनाबका कुरा गरौँ भनेर आएको ।”
“ल राम्रो भयो । चुनाब आयो, हैन ? प्रचार समितिमा तपाईंको नाम पढेथेँ ।”
“अनि सरको के छ विचार ? यसपटक त हामीलाई सहयोग गर्नु पर्यो नि । नभए त अप्ठ्यारो पनि पर्ला,” उसले धम्की मिसाएर भन्यो ।
“के को यसपटक ? सधैँ त सहयोग गरेकै छ नि ।”
“के गर्नु भा’छ सहयोग ?” राकेश निकै तातियो । उसको स्वर तिखो थियो र अनुहार समेत कालो भएको थियो ।
“पार्टी कसको सहयोगले चलेको छ ? था’छ ?” प्रिन्सिपल पनि ठूलै स्वरमा बोल्यो ।
उसले टेबलबाट चस्मा निकालेर लगायो ।
राकेश अलमल्ल पर्यो । टेबलमा हाजिर खाता मस्तसँग बसिरहेको थियो । राकेशले त्यसलाई एकछिन त मजैले नियाल्यो । पछि त्यति ध्यान दिएन र कोठाको भित्ता वरिपरि आँखा घुमायो । सिधा अगाडि माक्र्सको अनि माओको फोटा उसले देख्यो । वि.पी.को फोटो पनि थियो तर त्यो तल्लो भित्ताको कुनामा मुस्किलले अडिएर बसेको थियो ।
प्रिन्सिपले थप्यो, “पार्टी टिकाउने हामी अनि अरुको फुर्ती ? आफ्नो विचार जे छ छँदैछ ।”
प्रिन्सिपल कुर्सीबाट उठेर गोजीमा हात हालेर उभिएको थियो । उसले मोबाइल निकाल्यो — नोकियाको नयाँ मोडल थियो । हातमा राख्यो । नम्बर थिच्यो र भन्यो “ल कमरेड पछि भेटौंला ।” प्रिन्सिपल बाहिर निस्कियो ।
राकेश एकछिन चल्मलायो । पसिना पुछ्यो अनि सरासर त्यहाँबाट बाहिरियोे । दिउँसोको दुई बजेको थियो । राकेश नमुना बोर्डिङ स्कूलबाट निस्किएर सिधै कर कार्यालय गयो ।
ऊ कर कार्यालयको खरदार हरि कार्कीेलाई भेट्न चाहन्थ्यो । ऊ कार्यालय पुग्यो । कार्यालयका दुवै छेउमा मोटरबाइक पार्किङ गरेका थिए । नजिकै चिया पसलमा मानिसको घुइँचो थियो । त्यहाँबाट मासुको गन्ध आइरहेको थियो । ऊ नाक पुछ्तै अघि बढ्यो ।
ऊ सरासर कार्यालयभित्र पस्यो । उसले हरि कार्कीलाई कतै पनि देखेन । एउटा टेबल पछाडिको कुर्सीमा बसेर स्वेटर बुनिरहेकी अधवैंसे महिलालाई उसले सोध्यो ।
“चार नम्बरमा जानुस्,” तिनले उसलाई हेर्दा पनि नहेरिकनै जबाफ दिइन् ।
उसले हरि कार्कीलाई भेट्यो । हरि कार्की औसत उचाइको थियो । उसको पेट अस्वाभाविक ढंगले बढेको थियो । अनुहार कालो थियो र कपाल झन् निख्खर कालो थियो ।
“हरि जी,” राकेशले नजिकै पुगेर बोलायो । हरि कार्कीले फर्केर उसलाई हे¥यो र लगभग अत्तालिएको आवाजमा भन्यो, “ओहो कमरेड । अचानक यहाँ ।”
“होइन, यसो भेटघाट गरौँ भनेर,” उसले जबाफ दियो ।
“ल, एकछिन बाहिर निस्कौँ न त । चिया खाउँ, बसौँ ।” उसले “ल” भन्यो । उनीहरु चिया पसलको एउटा छेउमा बसे । खरदारले राकेशको हात लगभग समातेको अवस्था थियो ।
“अनि के छ ? कहिले काठमाडौंबाट ?”
“दुईचार दिन भो । चुनावका लागि झरेको । त्यसकै सल्लाह गरौँ भनेर ।”
“होइन होइन । यहाँ केही कुरा नगरौँ,” खरदार निकै अत्तालिएर बोलिरहेको थियो ।
“किन ?”
“होइन । भरे घर आउनुस् । त्यही गरौंँला । यहाँ त यतिका मान्छे छन् । ठीकै छ, त्यो भैहाल्छ । तर घरमा है ।” राकेश छक्क पर्यो ।
खरदार पुनः बोल्न थाल्यो, “हप्ता दिन अघि नेउपाने कमरेड आउनुभाथ्यो । मैले सकेको गरेँ । अस्ति राजेन आ’को थियो उसलाई पनि गरेँ । तपाईंलाई नगर्ने कुरै छैन । तर बेलुकी है ।”
राकेशको कुरा हरिले सुन्न पनि चाहेन । उसले भनिहाल्यो “अहिले त हुँदैन, हेर्नु । गाह्रो छ । पत्रकार घुमिरहेका हुन्छन् । तिनलाई पनि केही गर्नु पर्यो  । नभए भोलि पत्रिकामा छापिहाल्छन् ।”
“भै’गो । पछि कुरा गरौँला,” राकेश दिक्क भएको थियो ।
“कि यसो गरौँ । तपाईँलाई किन त्यसै पठाउनु । ल मसँग आउनु त । त्यहाँ माथि जाउँ ।”
राकेश अलमलियो । खरदारले पुनः बोलायो । उनीहरु कार्यालयको छतमा गए । खरदारले गोजीबाट चेक निकाल्यो र लेख्न थाल्यो ।
“ल यति लिनुस् है । तर यो हाम्रो हाकिम सा’व को तर्फबाट पनि नि । म नै हेर्छु सबै उहाँको कारोबार पनि । हेर्नु न हाम्रो पनि कमाइ छैन । के गर्ने बाँच्न गाह्रो । जाबो खरदारको तलब कति हुन्छ र ।”
राकेशले ढिलोगरी चेक समायो । दश हजारको चेकमा उसको नाम लेखिएको थियो । उसले त्यसलाई एकछिन हातमै बोकिरह्यो । खरदारलाई हेर्यो । सन्तुष्ट अनुहारले ऊ कलम गोजीमा घुसार्दै थियो । राकेशले वेवास्तासँग चेक प्यान्टको गोजीमा घुसार्यो ।
“अस्ति नेउपाने सरलाई जिल्लाका लागि भनेर यति नै दिएँ । राजेनले फोन गरेको गरै गर्यो, पाँचहजार दिएँ । घरमै आएको थियो ।”
”म त भोटको कुरा गर्न आ’को, ” राकेशले हिँड्दाहिँड्दै भन्यो ।
“छोड्नुस्, भोटको के कुरा हामी कर्मचारीको । तपाईँ काठमाडौँ  फर्कने चुनाव पछि ?”
“हो ।”
“म आउँछु है । मेरो काम छ ।” राकेश केही पनि बोलेन ।

राकेश कहिँपनि नअल्मलिई सरासर घरतिर फक्र्यो । घर पुग्दा आँगनमा कुखुरा चरिरहेका थिए । एउटा पोथीको वरिपरि पाँचवटा चल्ला घुमिरहेका उसले देख्यो । पोथी एकठाउँ गएर भुईं खोस्रन्थी । चल्लाहरु त्यहीं दौडेर पुग्थे । भालेको अत्तोपत्तो थिएन ।
ऊ बरन्डाको सखुवाको खाटमा ढल्कियो । प्रचारका लागि जाने भनेर तय गरेका ठाउँहरु अझै बाँकी थिए । मुसहर टोल, सुकुम्वासी टोल, काठको ठेकेदार राजेन्द्र, रामोतर ।
कहाँ जाने ? उसले सोच्यो ।
सुकुम्वासी टोल देवनीया खोलाको किनारमा थियो । त्यहाँ पुग्न खेतका आली र सिरू उम्रिएको चौर नाघेर पुग्नु पथ्र्यो । मुसहर टोल जाने बाटो निकै घुमाउरो थियो । काठको ठेकेदार राजेन्द्रको घर मोति चोकबाट पूर्व लेखनाथ चोक जाने मूलबाटोको चार घर पर पर्थ्यो ।
बेलुकी चार बजेतिर राकेश खाटबाट जुरूक्क उठ्यो । “जानु पर्ने ठाउँमा गइहाल्नु पर्छ,” मनमनै भन्यो ।
सर्ट पाइन्ट मिलायो । पाइन्टको गोजीबाट दिउँसो कर कार्यालयमा वेवास्तासँग खाँदेको वाणिज्य बैंकको चेक निकालेर जतनसाथ पट्यायो । पर्समा मिलाएर राख्यो । श्रीमती खोज्यो, देखेन । जुत्ता लगायो अनि सरासर बाटोमा निस्कियो ।
देब्रेतिर लागे मुसहर टोल पुगिन्थ्यो । ऊ दाहिनेतिर लाग्यो । तीन मिनेटमा मोती चोक पुग्यो । चोकबाट पश्चिम लागे सुकुम्वासी टोल पुगिन्थ्यो । ऊ पूर्वतिर लाग्यो ।
बाटोमा नअल्मलिई हिँडे दुई मिनेटमै ऊ काठको ठेकेदार राजेन्द्रको घर पुग्नेछ ।

 

पश्चिम सिक्किम साहित्य प्रकाशनबाट सन् २००८ मा स्रष्टा पुरस्कार पाएका रत्नमणि नेपाल लिलावादी लेखनका सदस्य हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *