राजनीतिको भगीरथ कर्म

उज्ज्वल प्रसार्इं | September 29, 2014

नेपाल हिन्दु राष्ट्र थियो, धर्मनिपरेक्ष भयो । राजतन्त्र थियो, गणतन्त्र आयो । एकात्मक शासन प्रणाली थियो, सिद्धान्ततः संघीयतामा सहमति भयो । साँघुरो हिन्दुवादी पहाडे राष्ट्रियताबाट समावेशी राष्ट्रियता कसरी बन्न सक्छ, बहस शुरु भयो । सिमान्तमा धकेलिएकाको स्वर मलिन थियो, मुखर बन्यो । नेपालमा भएका यी परिवर्तनहरु आऒ्ढैँमा प्रगतिशिल छन् । तर, यी एकै दिनमा भएका परिवर्तन होइनन् । परिवर्तनको हरेक मोडले कडा संघर्षको माग गरेको थियो । नेपाली जनताले त्यो मागलाई पुरा गरे । सशस्त्र विद्रोह गरे, शान्तिपूर्ण जन आन्दोलन, र मधेस आन्दोलन गरे । संघर्ष गरेर उपलब्धि हात लिन जति हम्मे पर्छ, ति उपलब्धिलाई टिकाउन र संस्थागत गर्न त्यो भन्दा कम गाह्रो हुँदैन । पत्रकार प्रशान्त झाको किताब ब्याटल्स अफ द न्यु रिपब्लिकले संघर्षको पृष्ठभूमि उधिन्छ, भएका उपलब्धि कति हुन्, त्यसको नाप जोख गर्छ। र, तिनलाई संस्थागत गर्ने क्रममा भएका व्यवहारिक राजनीतिक रस्साकस्सिका विचित्र किस्सा सुनाउँछ ।

रोचक के भने, कथावाचक झाले कथा सुनाउँदै गर्दा किताबमा आफ्नो राजनीतिक झुकाव इमान्दारीसहित खुलाएका छन् । चार भागमा विभक्त यस किताबको दुईटा मुख्य विशेषता छन् । एक, यसले नेपालमा भएका ठुला राजनीतिक आन्दोलनको व्यापक अर्थ र तिनको महत्ता स्थापीत गरेको छ । यसो गर्दा लेखकले आन्दोलनहरुसँग आरुनो व्यक्तिगत लगाव देखाएका छन् भने परिवर्तनको ठूलो क्यानभासमा आफू र आफ्नो समुदायको पहिचानलाई स्थापित गर्ने प्रयत्न गरेका छन् । दोस्रो, नेपाली राजनीतिका खास खेलाडीहरुले पर्दा अगाडी र पछाडी खेल्ने शक्तिको खेलको विस्तारमा चर्चा गरेका छन् । किताबले अंकीत गरेका मुख्य खेलाडीहरु हुन्ः माओवादी, नेपाली काँग्रेस र एमाले, मधेसी मुद्दा उठाउने पार्टीहरु, लामो समयदेखि हालीमुहाली चलाउँदै आएको नेपालको स्थायी सत्ता, र भारतको संस्थापन।

किताबको प्रारम्भमा उनले भनेका छन्ः जब भीड घर फर्किन्छ, जब राजनीतिक विजयसँगै उठ्ने आवेग विस्तारै मत्थर हुन्छ, जब क्यामेराको फोकस परिवर्तन हुन्छ, र जब रिपोर्टरहरु अर्को रिपोर्टको खोजि गर्नतिर लाग्छन, राजनीतिको भगिरथ कर्म बल्ल शुरु हुन्छ । (अनुवाद समिक्षकको आफ्नै) विभेदपूर्ण समाजको अन्तर्विरोधमा टेकेर माओवादीले सशस्त्र विद्रोह गरे । तत्कालिन राज्यका सुरक्षा निकायसँगको लडाइँमा एक अर्कालाई जित्न नसक्ने स्थिति बन्यो । यसैबीच राजा ज्ञानेन्द्रले सन् १९९०मा प्राप्त अर्धलोकतन्त्रलाई निमोठेर प्रत्यक्ष शासन थालेका थिए । उनले गरेको राजनीतिक कू को शिकार भएर संसदीय दलहरु सडकमा पुगेका थिए । उनीहरुको आन्दोलन रत्नपार्कको साँघुरो घेराबाट बाहिर निस्कन सकेको थिएन। जसै माओवादीसँग उनीहरुले १२ बुँदे समझदारी गरेर राजा विरुद्ध लड्ने सहमति गरे, आन्दोलनमा उभार आयो। फलतः राजतन्त्रको अन्त्य भयो । यति हुन्जेल झाले भनेजस्तो संघर्षको उन्माद र विजयको आवेगमा सबै रमाएका थिए ।

तर, पर्दा पछाडी अनेक राजनीतिक समिकरण बन्ने र टुट्ने अटुट शृंखला त तब शुरु भयो जब संविधान सभाको चुनाव भएर परिवर्तन पक्षधर शक्तिहरु बलवान बने । नयाँ बानेश्वरको संविधान सभा आफ्नो दैनिकीमा सुस्त बन्यो । सिंहदरबार वरपर स्वार्थहरुको घमासान टकराव भयो । यसै टकरावमा परेर नेपाली जनताले लामो समय देखि साँचेको समावेशी र समृद्ध नेपालको सपना दुर्घटनामा पर्‍यो । संविधान नै नबनाई संविधान सभाको अन्त्य भयो । अत्यन्त सक्रिय पत्रकारका रुपमा झाले आफ्ना कोलमहरुमा यी पर्दापछाडीका खेल उधिनेका थिए । त्यहि रिपोर्टीङको क्रममा देखे भोगेका घटनाहरुको विस्तारित रुपमा चर्चा गरिएको छ किताबमा ।

पर्दा पछाडी खेलिने खेलका बारे छोटो चर्चा गर्नु उपयुक्त हुन्छ । खासगरि भारतीय संस्थापन र रअ जस्ता गुप्तचर विभागहरुले नेपाली राजनीतिको माईक्रो म्यानेज गर्ने विषय नेपालमा अत्यन्त पेचिलो बन्ने गरेको छ । किताबमा उल्लेख भए अनुसार सन् २००५ मा भारतको संस्थापनले नेपाललाई हेर्ने आरुनो दुई खम्बे नीति अर्थात प्रजातन्त्र र संवैधानिक राजतन्त्रमा अडिग भएको बताईरहे पनि सशस्त्र विद्रोहमै रहेका माओवादी र संसदवादी दलहरुबीचमा १२ बुँदे समझदारी गराउन सकारात्मक पहल गरेको थियो । त्यस पश्चात केहि अलमलका बाबजुद परिवर्तनहरुलाई सघाउन भारत पछि हटेको छैन । तर, संविधान सभामा माओवादीले अप्रत्याशित जीत हासिल गरेपछि भने भारतीय संस्थापन र खुफीया एजेन्सीहरु माओवादीलाई ठेगान लगाउनमा दत्तचित्त हुन थालेको विभिन्न घटनाक्रमले देखाएको छ । माओवादी प्रधानमन्त्री प्रचण्डले नेपाली सेनाका प्रमुख रुक्मांगत कटवाललाई वर्खास्त गर्ने निर्णय लिएपछि भारत र माओवादीबीचको सम्बन्धले अत्यन्तै नकारात्मक मोड लिन्छ । उसले माओवादीलाई नेपाली सेनामा हेरफेर ल्याउन हतारमा कुनै निर्णय नगर्न धेरै पटक सचेत गराउँछ । तर, पार्टी भित्रकै दवावमा प्रचण्डले तीन महिना पछि रिटायर हुन लागेका कटवाललाई हटाउने निर्णय लिन पुग्छन् । भारतकै आडमा राष्ट्रपतिले प्रचण्डको निर्णय उल्ट्याईदिन्छन् । फलतः प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिन्छन् । त्यसपछि माओवादीबाट भारत विरोधी कडा प्रतिक्रियाहरु व्यक्त हुन्छन् । सम्बन्ध अझ चीसो हुन्छ । त्यसले राजनीतिको कोर्स नै बदलिदिन्छ ।

त्यसपछि अनवरत रुपमा आरुनो प्रभाव भएका मधेसी दललाई अनेकन् समिकरण जोड्न र भत्काउन भारतले प्रयोग गर्छ । वर्षौँको अलगाव सहेर बसेको सिँगो मधेसी समुदायलाई शक्तिसम्पन्न बनाउने महत्वपुर्ण मुद्दा उठाएर शक्तिशाली हुन पुगेको मधेसी जनतान्त्रिक ऒ्ढोरम जस्तो पार्टीलाई अनेक टुक्रामा विभाजित गरिदिएर सो मुद्दा कमजोर बनाउनमा भारतकै ठूलो भूमिका रहेको देखिन्छ । मधेसी नेताहरुको पनि आफ्नो शक्तिशाली कन्स्टीटुएन्सी र मुद्दाप्रतिको लगाव कम हुँदै जान्छ । व्यक्तिगत लाभहानीको हिसाब किताबमा रमाउन थालेपछि भारतले उनीहरुको त्यहि कमजोरीमा खेलेर नेपालको राष्ट्रिय राजनीतिको गतिलाई विपरित दिशातिर मोड्ने प्रयत्न गरिरहन्छ। त्यसमा ऊ धेरै पटक सफल हुन्छ । आफ्ना स्वार्थ पूर्तिगर्न भारतले यहाँका दललाई र दलका नेताले भारतलाई प्रयोग गर्ने नेपालको पुरानो राजनीतिक रित हो ।

गणतन्त्रमा त्यस्तो रित पूर्णतया संस्थागत भएको किताबमा उल्लेख छ ।  किताबमा गरिएको विस्तारित वर्णनमा बजार हल्लाका विपरित दुइ मुख्य तथ्य देखा पर्छन् । एक, बाहिरबाट हेर्दा भारतले मधेसी पार्टीहरुलाई अतिशय प्रेम गरे जस्तो देखिए पनि उसले उनीहरुलाई सहयोग भन्दा धेरै गुना बढ्ता प्रयोग गरेको छ । बरु, मधेसी पार्टीलाई त्यसरी प्रयोग गरेर माओवादी सशस्त्र विद्रोह, जनआन्दोलन, र मधेस आन्दोलनले उठाएका मुद्दालाई पचाउन नसकेका काँग्रेस, एमाले, र नेपालको स्थायी सत्तालाई नै भारतले बढी सहयोग पुर्‍याएको बुझ्न सकिन्छ । दोस्रो रोचक तथ्य के हो भने, भारतले अत्यन्त नजिक राखेको र त्यसको प्रतिरक्षा गर्न जहिल्यै तत्पर रहने कुनै नेपाली संस्था छ भने त्यो नेपाली सेना नै हो । सेनाको लोकतान्त्रिकरण गर्ने भनिएर अहिले सम्म त्यसतर्फ सिन्को भाँच्न नसक्नुमा पनि भारतको सो संस्थामा विशेष चासो भएकाले हुन सक्छ ।

पुस्तकमा भारतको भूमिका बारे प्रशस्त चर्चा भएपनि नेपालमा भएका आन्दोलन र प्राप्त उपलब्धिहरु नेपाली जनताकै संघर्षबाट सम्भव भएको स्पष्ट उल्लेख छ । भारतका गुप्तचर विभागको चाहनामा कुनै आन्दोलन वा विद्रोह यहाँ भएका छैनन् । भारतका चासो र नेपाली राजनीतिक दलले खेल्नु पर्ने भूमिकाबारे लेखकको स्पष्ट बुझाई यस्तो छ :  भारतको प्रभाव रहनुमा भूराजनीतिक कारण प्रमुख छ। कसैले चाहेर वा नचाहेर उसको भूमिका शून्य हुने वाला छैन। नेपालसँग एउटा मात्रै विकल्प उपलब्ध छ, भारतलाई विश्वासमा लिएर आरुनो हितमा काम गर्नु।

लेखक झा मधेसको मुद्दाप्रति अत्यन्त संवेदनशील छन् । मधेस आन्दोलनले उठाएका मागहरुको उचित सम्बोधन भए मात्रै देशमा प्रगतिशिल परिवर्तन हुने र लोकतन्त्र बलियो हुने तर्क उनले बारम्बार लेख्दै आएका हुन्। उनको यस संवेदनशीलता किताबमा मुखर बनेको छ । मधेसी एक्टिभिष्ट तुला शाहले उनका बुबाले काठमाडौँमा भोग्नु परेको कहरको प्रसँग जोडेर उनले काठमाडौँको स्थायी सत्ताले मधेसलाई हेर्ने दृष्टिकोण उजागर गरेका छन् । मधेसका धेरै जिल्ला र भारतसँग सिमा जोडिएका अनेकन् ठाउँहरुको भ्रमण गरेर जिवन्त रिपोर्टाजहरु पनि तयार पारेका छन् । मधेसमा प्रहरीबाट अनेकन् गैरन्यायीक हत्या गरिन्छन् भन्ने तथ्य पनि अघिल्तिर आएको छ । तर, सँगसँगै मधेस भित्रका जात, धर्म, र समुदायबीचका डाइनामीक्स समेत उधिनेका छन् । लेखकले मधेसमा भेटेका एक मधेसी मुस्लिम हुन् अब्दुल सत्तर अन्सारी । उनले लेखक झालाई मधेसी मुस्लिममा रहेका शंका यसरी व्यक्त गर्छनः पहाडे सत्ताको ठाउँमा मधेसी हिन्दुको प्रभुत्व आउँदा हामीलाई के फरक पर्छ ? यो मधेस आन्दोलनलाई सघाउँदा हामीलाई के फाईदा हुन्छ ?

झाको किताबको समिक्षा गर्दै मधेस आन्दोलन र नेपाली राजनीतिक ईतिहासमा लामो अनुसन्धान गरेका भाष्कर गौतमले बहस गर्न सकिने एउटा महत्वपूर्ण प्रश्न उठाएका छन्ः लेखकले औँल्याएका क्रमिक क्रान्तिले सारमा कस्तो संरचनागत फेरबदल ल्यायो त? त्यस्तो संरचनागत फेरबदलमा आम जनताले के कस्तो तात्विक परिवर्तन महसुस गरे ?  यी प्रश्नहरुमा रहेर बहस र अनुसन्धान अघि बढाउन सकिन्छ ।

यसरी नेपालको राजनीतिक परिवर्तनलाई एक संवेदनशील पत्रकार र कुशल विश्लेषकका रुपमा झाले आफ्नो किताबमा उतारेका छन्। किताबमा उल्लेख नभएका नेपाली राजनीतिका अनेक पक्ष हुन सक्छन् । त्यसैगरि महिला र जनजातिको मुद्दालाई पनि मधेसीको मुद्दालाई जति नै मुखर तुल्याइन पर्थ्यो भन्ने कसैको आग्रह पनि हुन सक्ला । यस्ता आग्रहहरु नाजायज वा अनपेक्षीत होइनन् । तर, किताब लेख्नुको पनि आफ्नै सिमाहरु हुन्छन् । बरु, नेपालमा भएका अरुखाले संघर्षकाबारे पनि यसरी नै किताब लेखिनु जरुरी छ भन्ने यस्ता आग्रहहरुबाट पुष्टि हुन्छ ।

समग्रमा, ब्याटल्स अफ द न्यु रिपब्लिक पठनीय र संग्रहणीय दुवै छ । लेखाई र घटना वर्णन गर्ने तरिका स्वादिलो छ। नेपाल सम्बन्धि धेरै जानकारी नभएका पाठकका लागि पनि घटनाको सिलसिलेवार प्रस्तुतीकरणका कारण किताब पढ्नमा कुनै कठिनाई हुँदैन ।

ब्याटल्स अफ द न्यु रिपब्लिक, प्रशान्त झा, एलेफ बुक कम्पनी, २०१४

(यो समिक्षा ललित साहित्यिक पत्रिकाको तेस्रो संस्करणबाट लिइएको हो । ललितको तेस्रो संस्करण अहिले बजारमा उपलब्ध छ )

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *