कसिङ्गर

Rita Shree Baramu | September 1, 2019

आमै प्राय भनी राख्थिन्, “आइतीको जस्तो जिन्दगी त शत्रुले पनि बाँच्नु नपरोस् ।”

आइती अर्थात् मेरी क्षामा, क्षामा अर्थात् आमाकी बहिनी ।

संसारमा मैले राम्ररी नियालेका र चिनेका मान्छे मध्ये पहिलो आमा अनि उनै क्षामा हुन् । हामी क्षामालाई औधी माया गर्छौँ । आमालाई त आइती आफ्नी प्यारी कान्छी बैनी भएकोले माया लागेको होला । मलाई भने क्षामा आफ्नी सानीमा भ’कोले भन्दा पनि उनका कहानी सुन्दा सुन्दा उनको माया लाग्दै गएको हो ।

ती कहानीहरू सायद मलाई पनि थाहा हुन्थेन यदि मैले लुकेरै भएपनि सानै देखि आमा र क्षामा बीचको सुखदु:खका कुराकानीहरू नसुनेको भए वा सुन्न नखोजेको भए । बेला मौकाँ जब क्षामा हाम्रो घर पाहुना लाग्न आउथिन् तब सबै भातभान्सा सकेर आमाहरू कुरा गर्न बसेका हुन्थे । तब सुरु हुन्थ्यो उनीहरूका भोगाइ सुखदु:खका कहानीहरू : कसरी सानोबुवा आफ्नै घरबेटीकी श्रीमतीसँग लहसिएका थिए । कसरी यो सब थाहा पाएर पनि क्षामाले थाहा नपाए जस्तो गर्थिन् आदि इत्यादी ।

जब कुराहरू उत्कर्षमा पुग्न लागेका हुन्थे, छेउमै बसेर उत्सुकता साथ सुनिरहेकी मलाई भने “केट्केटी भएर के ठूलाहरूको कुरा सुनेको ? जा गएर पढ्” भनेर त्यहाँबाट धपाइन्थ्यो ।

खै कस्तो नीति नियम चल्छ यहाँ ! ठूलाको कुरा सानाले सुन्नै नहुने !

त्यसो त घरमा पाहुना आउँदा बुवा पनि त्यसरी नै गफिने गर्थे । बुवाले गर्ने गफ भनेको ठूल्ठूला हुन्थे । समाजका, कानुनका, व्यापारका, राजनीतिका । त्यतिबेला सायद भर्खरै १२ बुँदे समझदारी गरी माओवादी खुला राजनीतिमा आउँदै गरेको गरमागरम अवस्था थियो क्यार । त्यही भएर राजनीति अनि इतिहासका गफ गरेर मान्छेहरू कहिल्यै थाक्थेनन् । त्यसमाथि मेरो बुवा त झन् गफ गर्नमा माहिर । म बुवाका धेरै कुरा बुझ्न सक्ने त थिइँन तर केही कुराहरू भने किन हो औधी रमाइलो खालको हुन्थ्यो । जस्तै तिनताक गाँउको सचिवले कसरी मरिसकेका मान्छेको नाममा भत्ता ल्याउदै पचाँउदै गर्थे । कसरी युद्धताका बन्दागोभीको पत्र-पत्रभित्र पैसा लुकाएर बोरामा सप्लाई गरिन्थ्यो । कसरी शान्ति सेनामा गएका नेपाली सैनिकले भोक नलाग्ने क्याप्सुल खाएर १८ घण्टा सम्म युद्ध क्षेत्रमा खटिएर काम गर्नुपर्थ्यो । कसरी पञ्चायतमा मन्त्रीहरू राजाले पद दिई सकेपछि आत्तिन्थे, पद त बक्सी बक्स्यो, खै काम पो केही जानेको छैन कसरी गर्ने हो भन्दै…..।

त्यतिबेला छेउमै बसेर सुनीरहेकी आमालाई पनि आइमाई भएर के छोरामान्छेका गफ सुनिरहेको ? जा भरेको भातभान्सा जोहो गर् भनेर धपाइन्थ्यो । त्यसरी धपाइनुको पीडा आमालाई थाहा हुनुपर्ने हो । तर फेरि मलाई पनि आमै उसै गरी धपाउथिन् केट्केटी भएर ठूलाको कुरा सुन्नुहुन्न भन्दै ।

त्यसरी लखेटिए पनि म छिंडीमा गई अलक्कसँग उनीहरूका कुरा कान थापेर सुन्ने गर्थे । मलाई बुवाका राजनीति, व्यापार, कानुनका कुरा भन्दा बढ्ता आमै र क्षामाका साना मसिना गफ नै प्यारो लाग्थ्यो । उनीहरूका भोगाइबाट धेरै कुरा सिके जस्तो हुन्थ्यो । किनकी बुवाका कथा भन्दा आमाका कथामा म आफूलाई पनि कहीँ कतै अदृश्य रुपमा पाउँथे । आफूलाई नजिक पाँउथे । मेरा लागि त्यसरी लुकेर सुनेका उनीहरूका साना-साना कुराहरू कुनै लोक कथा भन्दा कम थिएनन् । अझ भन्ने नै हो भने त मेरो बुझाइमा ती कुनै महाकविले अहिलेसम्म लेख्न नसकेका महाकाव्य हुन् । कुनै पूरातत्वविदले पत्ता लगाउन नसकेका धरोहर हुन् र कुनै अनुसन्धानकर्ताले खोतल्न नसकेका तथ्य हुन् । जसको आजका मितीसम्म बुवा जस्ता ठूला ठूला मान्छेको सर्कलमा चर्चा हुँदैन ।

मलाई लाग्थ्यो म क्षामाको जीवनकथाको नाउमा कुनै गीति नाटक सुनिरहेको छु । त्यो धारावाहिक छ । श्रृखलाबद्ध छ । यो श्रृखला छुट्यो भने यसको रिपिट ब्रोडकास्ट हुनेछैन । कम्तीमा मेरो लागि चाहिँ हुनेछैन । त्यसैले लुकेरै भए पनि

सुन्थेँ । सुनीरहन्थेँ ।

***

मैले सुने अनुसार आमा जस्तै क्षामाको पनि १५ वर्षमा बिहे भएको रहेछ । सानोबुवाले आमाको विवाहमा जन्ती आउँदाताका क्षामालाई देखेछन् । दुलहाको साली त्यही केटी हो भनेर । त्यतिबेलै क्षामाको शालीन र सुन्दर मुहारमा उनको मन बसेछ । त्यही मनलाई फिर्ता पाउन उनले तिनताक कति चिठीहरू लेखे । कति कोसेलीहरू पठाए ।

त्यसरी आएका कोसेली मध्ये क्षामाले कपाल बाट्ने धागो पल्लाघरे गायत्रीलाई दिइन् रे । रातो टिकाको पत्ता हजुरआमालाई । पशुपति विस्कुटका पोका कोही हजुरआमालाई कोही माथ्लाघरे भदाहरूलाई । सँगसँगै आएका सुकावाला चकलेटहरू समेत । अन्य सामानहरू पनि के के कसलाई दिइन् । ती मध्ये आएका डल्ले साबुनहरू विरौटे खोलाको डिलमा बसेर मुङ्ग्रोले पिटी पिटी आफ्ना लुगा धोइन् । त्यसरी नै नुहाएपछि कपाल घाममा सुकाएर ज्यास्मिनको तेल भने कपालमा दलिन् । किनकी ज्यास्मिनको तेलको बास्ना उनले सधैँ लाउने घट्टमा पिसेर निस्केको तोरीको तेलभन्दा बास्नादार थियो । अँ ! अनि चिठीहरू भने २ महिनासम्म आफ्नो छुट्टै टिनको बाकसमा लुगाहरूको मुन्तिर मिलाएर राख्दै गइन् ।

ती चिठी उनले पढ्न चाहेर पनि पढ्न सकिनन् । केही भेउ फुकिहाल्छ कि भनेर उनले कतिबेर सम्म नियालेर त हेरिन् । अहँ पटक्कै छेउ टुप्पो, उल्टो सुल्टो, कहाँबाट सुरु भएर कहाँ अन्त्य भएको हो सम्म थाहा पाउन सकिनन् । त्यतिबेला उनलाई पढ्न नपाएको कुराले दोस्रो पटक चित्त दु:ख्यो रे ।

पहिलो पटक चैँ जब काठमाडौँ देखि छोरी भर्ना अभियानमा आएको टोलीलाई हजुरबाले छोरीलाई पढ्न पठायो भने पोइल जान्छन् भनेर धपाका थिए त्यतिबेला दु:खेको थियो रे । तर के गर्नु उनी त छोरी परिन् । घरको काम गर्ने जात । अर्काको घर जाने जात । उनको इच्छाको के अर्थ ?

खैर त्यस पछि क्षामैले बर्षेनी कहिले पास कहिले फेल हुँदै भर्खर कक्षा ८ मा उत्रेको च्यामेलाई साथी बनाउने दाउ थालिछिन् । च्यामेलाई कजाउन कहिले सुकावाला चकलेट दिने कहिले उसको गाईवस्तु पनि आफ्नो बथानमा मिसाइ चराइदिने । वनमा जाँदा २ मुठा घाँस अलि बढि काटेर उसको भारीमा थपिदिने गर्न थालिन् । यसो गर्दा गर्दै उनले च्यामेलाई गोठालो जादा पातले वनको चुच्चे ढुङ्गामा बसेर चिठी पढ्न मनाइन् ।

च्यामेले कनी कनी चिठी पढ्यो ।

पयारी अ..आइत..ती (आइती) म..माया,

त.तिमल..लाई (तिम्लाई नदेख..खेको (नदेखेको ) पन.नि (पनि) ज..जुग भयो ।

त..तैपन.नि.आज समम त..तिमो य..यादममा..ब..बाच..ची…रह.हे..को छ..छु ।

……..

…………..

……………….

च्यामेले अड्की अड्की पढेको चिठी क्षामाले ध्यान दिएर सुनिरहिन् । कति कुराको भेउ पाइन् कतिको पाइनन् । तर चिठी सुनिसके पछि भने क्षामाको अघि उनैले वनमा खाजा भनी पटुकीमा पोको पारी लगेको खट्टे फुकाए सरी जीवनको ठूलो खुल्दुली सरर् खुल्यो । अब खट्टे खाने कि नखाने उनलाई दोधार दोमन भयो ।

बिहेको प्रस्ताव स्वीकार गर्नु भनेको पोल्टाबाट खट्टे फुकाएर खानु जस्तो सजिलो पक्कै होइन ।

त्यो कुरा उनले माइत आएकी आफ्नी दिदीलाई उनले हजुरआमालाई । हजुरआमाले हजुरबुवालाई । एंव रीतले बिहेको छिनोफानो ठूलाबडाको हातसम्म पुग्यो ।

यसरी सानोबुवाको तर्फबाट सुर्केपुङ्ग मिचाउन उनी र उनका बुवा आउने नै भएछन् । माने मान्लिन् नमाने विचारै भो भन्दै । हजुरबुवाले उचा लाहुरे ङिङा । नाङ्को सजिलै पल्थुगो । इस्ताक चिवा फेरि म तैगो है आइती (केटो लाहुरे हो , तलाई सजिलै पाल्छ । यस्तो मौका फेरि आउन्न है आइती ) भन्दै सुर्केपुङ्गको एक आने रक्सी समात्न लगाएरै छोडेछन् । क्रमशः ठेकीपुङ्ग र बन्दरीभारी गर्ने दिन पनि तोकियो । अन्ततः क्षामाको लाहुरे केटोसँग बिहे हुने भो

***

केटाहरू : यो वनैमा सानु छ छैन चरी

घुम्दै फिर्दै सानु आइपुग्यो शिकारी ….हुर्रररररर्

केटीहरू : छनलाई त सानु छ वनमा चरी

कराउदैन सानु उसको मन नपरी…….।

 

क्षामाको बिहेको दिन जन्तीका केटाहरू र दुलही पक्षका केटीहरूबीच यस्तै यस्तै गीतहरूको दोहोरी परेको थियो रे । भन्नेहरूले त्यो सालजस्तो हुनहारको दोहोरी त कुनै पाङ्गदुरे, मेला वा विवाहमा पनि खेलिएको थिएन सम्म भने । यता दोहोरीको भिडन्त उता जन्ती पर्सिए पछिको कर्म हुँदै, स्वयम्वर, होस्टे देखि सिन्दुर हाल्ने सम्मको काम हुँदै गयो । त्यसपछि दुलही अन्माएर ढोग फुकाइवरी क्षामालाई उनको कर्मघर लिएर गइयो ।

बिहे पछि क्षामालाई नयाँ ठाँउमा घुलमिल हुन निकै गाह्रो भयो । कर्मघर नाँउको गाँउ–ठाँउ नै बिरानो । न त त्यहाँ विरौटा खोलाको सुस्केरा सुनिन्थ्यो । न त पातले वनको चुच्चो ढुङ्गाबाट सहेलीहरूले बजाएको सालको पातको धुन । न उहुर्र्र्र्ईईईई…..भनेर वनपाखा हल्लाउने सहेलीहरूको कोलाहल । न त त्यहाँको पानी लाकुरीबोट मुन्तिरको कुवापानी जस्तो एक घुट्का मै तिर्खा मर्ने खालको थियो । अरु त अरु त्यो नयाँ ठाँउमा उनले ठेकीपुङ्ग खाएर आफ्नो बनाएको सानोबुवा पनि थिएनन् । सानोबुवा आफ्नो जागिरको लागि केही दिन मै हिँडेका अरे ।

आफूले बिहे गरी गएका मान्छे नभए पनि उनलाई त्यहाँ बस्नु त थियो नै । सबेरै भालेको डाँक नबास्दै लिपपोत गर्यो । ढिकी जातो गर्यो । बेँसीको पँधेरामा पानी भर्न गयो । पानी भरी आइवरी बस्तु भाउलाई खुवायो । गोबर सोहोर्यो । दूध दुह्यो । अनि भोकै घाँस काट्न गयो । मध्यान्नमा आफू भन्दा ठूलो भारी घाँस बोक्यो । गोठ निर बिसायो । सासू आमैले ओडाली राख्देको ४ गाँस ढिडो कहिले फर्सीको झोल, कहिले साग, कहिले छिप्कानेको झोल जस्ता सिजन अनुसारको तिउनसँग खायो । त्यसपछि सबैको भाँडा माझ्यो । अनि दाउरा वा बस्तुभाउ चराउन हिड्यो । साँझ घाम ढल्के पछि दाउराको भारी सहित बस्तुभाउ डोहोर्याउदै फर्कियो । बस्तुभाउको साटो सिजन अनुसार मेला पर्म पनि जानुपर्ने हुन्थ्यो । घर फिरेर चार गाँस टिप्यो, भोलीको लागि बस्तुलाई कुडो पानी पकायो । फेरी भाँडा माझ्यो । अनि भोलीको मजदुरीको लागि आफूलाई तयार गर्नका लागि सुत्यो ।

उनको जन्म नै सायद यत्ति गर्न कै लागि भएको थियो । यत्ति नोकरीको लागि । बिहे पहिले आफ्नाहरूको लागि नोकरी गर्नुपर्थ्यो भने बिहे पछि आफ्ना भन्नेहरूका लागि । फरक यति थियो पहिले नोकरी नै सही कसैको डरमा बस्नु पर्थेन । पछि पाइला पाइलामा डराईकन, कुनै काम बिग्रने पो हो कि भनेर गर्नुपर्थ्यो । काम बिग्रीहाल्यो भने, कस्ती अलच्छिनी रैछे यसका आमाबाले अर्काको घरमा रजाइँ गर्न केही नसिकाई पठाका भनी तिखा बचन हानिन्थे रे । उनकी सासुले पनि आखिर जे भोगिन् जे सुनिन् त्यसैको सिको गरेकी त होलिन् नि !

यता आमाका पनि भोगाइ यो भन्दा खासै भिन्न त हुन्थेनन् । केही पात्र र परिवेश फरक नत्र दुरुस्तै त्यही । त्यसो भए यी सब दु:ख उनीहरूले आखिर के का लागि गरे त ? कसैको घरमा काम गर्ने कामदारले बरु धेर थोर पैसा पाउँछ । दिनभरी काम गरेर भए पनि साँझमा सन्तोषले निदाउन पाउँछ । तर बुहारीहरू प्रविधीको विकास नहुँदै निर्माण गरिएका यस्ता मानवरुपी रोबोट रहेछन् जसलाई न पैसा मिल्छ न इज्जत, न माया न सम्मान नै । निरन्तर काम गरेको छ । खटेको छ । सेवा गरेको छ । कहाँबाट आउँछ होला नि है उनीहरूलाई यस्तो अविरल र अकाट्य उर्जा ? के ले उनीहरूको जिन्दगीको डोरो तानिरहन्छ होला ।

क्षामा धारावाहिकमा अर्को शृंखला थप्दै जान्थिन् म भने यता अघि नै गुम्सीसकेको हुन्थे ।

***

अर्को पटक पाहुना हुन आउँदा क्षामाले आमासँग बिहे पछिको पहिलो रातको कहानी सुनाइन् । क्षामा भन्दै थिइन् “दुल्हन फर्काउन आउँदा साथीहरूले मलाई छिल्लिएर सोधे, के हो अनुहार त धपक्क बलेको देख्छु नि रातारात कसरी यस्तो भयो आइती ? भिनाजुले त्यस्तो के जादु गर्नुभयो ? तर तिनीहरूलाई के था मैले कत्रो खुड्किलो पार गर्नुपर्यो । ”

“त्यो रात घरमा भित्रेसी सबैले मुख हेरे । सासु, ससुरा, अमाजु सबले । दिनभरी यता र उताको रीतले म उल्कै थाकेको थिएँ । त्यसैले चाँडै सुत्न पाए भन्ने सोच्दै थिए । मर्या मुर्दार कुन झिमिक अघि नै कोठामा छिरेर चुकुल लाउन समेत भ्याइसकेछ । भित्र आएसी त के सोच्थ्यो, एक्कासी ममाथि चढेर मलाई कर्यापकुरुप पार्न थाल्यो । म चल्न चटपटाउनै सकिन । न त अरुले सुन्ला भन्ने दकसले आया आत्था नै भन्न सकेँ । भालुले शिकारलाई झम्ट्या जसरी झम्ट्यो त्यो बज्याले । मेरो रगतको त आहाल नै बन्यो । बज्या कुनै केटीको मुखै पर्या थिएन कि वा स्वास्नी हो जे गरे नि हुन्छ भन्ने भाको हो । सम्झिने हो भने नि कस्तोसँग ब्या गरिछु भनेर ननिको लाग्छ । तेरो ब्या गर्दा नि यस्तै भाको थ्यो त गम्की ?”

यता आमै अघि नै मुर्झाइसकेकी थिइन् । भनिन् “ हरे शिव ! यी आइमाईको जातले के के मात्र भोग्नु पर्ने नि । दु:ख जति हाम्रै भागमा मात्र किन पार्देका के यी भगवान भनाउदाले ?”

त्यसपछिका कति रात क्षामालाई कहिल्यै नआइदिए हुन्थ्यो जस्तो लाग्थ्यो रे । तर क्षामाले भनेर नहुने । त्यस्ता कति अत्यासलाग्दो ला..मा रात उनले कति काटिन् कति । जब सानोबा शहर गए, त्यसपछि कहिल्यै नसकिए पनि हुने जस्तो लाग्ने रात नै आँखाको झिम्क्याइसँगै सकिने रे ।

यति कहानी सुनाएको भोलीपल्ट क्षामा त आफ्नै घर गइन् तर मैले कति दिनसम्म राम्रोसँग भात पनि खाइनँ । साथीहरूसँग राम्ररी कुरा पनि गरिनँ । मेरो मथिङ्गल हल्लियो । यो पहिलो रातको कुरा मेरो लागि सोच्नै नसक्ने भयानक थियो । सोच्थेँ, मेरी आमैले त आफ्नो कुरा अन्त मोडिन् । के हजुरआमाले पनि यस्तै भोग्नुभयो होला ? मैले सुनेको हजुरबा र हजुरआमाको त २० वर्षको फरक हुँदा पनि बिहे गर्देको रे । के काकी, फुपू सबैको भोगाइ यस्तै थियो ? के सबैका पहिलो रात त्यस्तै डरलाग्दो अनि त्यस्तै रगताम्य हुन्छन् ? उफ् यो कस्तो अदृश्य तर भयानक युद्ध ! कसका विरुद्ध? अनि के का लागि ? के दुबैलाई आनन्द हुनसक्ने सम्बन्ध बन्नै नसक्ने हो ? किन ? सक्छ भने कसरी ? भोली मैले पनि त्यही बाटो हिँड्नु पर्यो भने ? म क्षामाले जसरी नै चुपचाप सहुँला त ? अथवा अरु नै केही उपाय पो छ कि ? ला….कसरी थाहा पाउने होला ! मैले त्यो कहानीलाई कसै गरे नि सहज लिनै सकिनँ । सक्दै सकिनँ ।

कति समय त्यही शिलशिला चलिरह्यो । त्यसपछि क्षामा सानोबुवा सँगै काठमाडौँ गइन् रे भन्ने सुने । काठमाडौँ मेरो लागि पनि सधैँ सपना कै शहर थियो । क्षामा मेरो पनि सपनाको शहरमा पुगेको सुनेर मलाई खुशी लाग्यो तर उनले अब कति त्यस्ता रातहरू कटाउन पर्ने हो भन्ने कल्पनाले म भित्र भित्रै तर्सिएँ । त्यसो त उनी अब हत्तपत्त हाम्रो घर आउँदिनन् र उनका कुरा सुन्न पनि नपाउने भएँ भन्ने कुराले चैँ कता कता दु:खी बनाएको हो कि जस्तो पनि भयो ।

***

तर त्यसो भएन । एकदिन क्षामा फेरि अर्कै भेषमा टुप्लुक्क आइपुगिन् । क्षामाले लगाएको सलवार कमिज उनलाई सुहाएको हो कि नसुहाएको हो मलाई त ठम्याउनै मुस्किल भयो । जे होस् उनी सलवार कमिजमा भिन्दै देखिन्थिन् । मैले यो पटक पनि सधैँ झैँ लुकेर उनका कहानी सुने ।

जब क्षामा सानोबासँग काठमाडौँ पहिलो पटक ओर्लिइन् बसपार्क भित्र ट्या ट्या टु टुट गरी गुडिरहेका, साइड लगाइरहेका त्यतिका धेरै गाडीहरू देखेर आत्तिइछिन् । यो देखेर सानोबाले खिसी गर्दै भनेछन् “यी घाँस खान नपाएर भोकले कराका हुन् । जा जा एक भारी घाँस काटेर ल्याइ हाल्दे यिनरुलाई । हाहाहाहा…।”

क्षामालाई ती गाडीहरूले के खान्छन् त्यो त यकिन थिएन । तर उनलाई पक्कै थाहा थियो रे ती मोटर गाडी गाँउमा हुने कैली गाईले जस्तो घाँस खाएर बाँच्ने जिनिस भने पक्कै होइनन् ।

सानोबाको यस्तो भद्धा मजाकले उनको चित्त दु:ख्यो । तैपनि केही नबोली लुरुलुरु पछि लाग्नुपर्ने बाध्यता त थियो नै । उनी डल्लुको एउटा चिसो नाम मात्रको कोठामा सानोबासँग पछि पछि लागिन् । त्यहाँ बस्नुपर्ने भएपछि उनलाई ग्याँसमा खाना पकाउनुपर्ने भयो । चामल सागको जोहो गर्नुपर्ने भयो । नयाँ ठाँउ नयाँ सामानहरू । खै कसरी पो गर्ने । आफ्ना मान्छेलाई सोधौँ भने त्यस्तै खिल्ली उडाउने हुन् अनि आफ्नो चित्त मात्र दु:खाउने हो । २–३ दिन त गाँउबाट लगेकै मकै खट्टे खाएर बिताइन् । पछि पल्लो कोठाको पेम्बा दिदीसँग ग्याँस जोड्ने, बाल्ने, निभाउने आदि उपाय सिकिन् । अनि सुरु भयो उनको काठमाडौँ दैनिकी ।

क्षामा दिनहुँ खाना बनाउथिन्, सानोबालाई कुर्थिन् । साँझ १० बजेसम्म पनि सानोबा नआए पछि सेलाएको खाना २ गाँस टिपेर पल्टिन्थिन् । सानोबा कति दिन हराउँथे। कहाँ गएको उनलाई पत्तो हुन्थेन । कोठामा खाने सरदम सकिसकेको हुन्थ्यो । उनी आफ्नो अन्नदाता आउने पर्खाइमा कति दिन भोकै बसिन् । कहिले पेम्बा दिदी कै सहारामा बाँचिन् । कहाँ गएको सोधेमा कहिल्यै सिधा जवाफ नपाइने । आइमाई भएर धेरै चासो नलिएकै राम्रो भन्ने मुख भरिको जवाफ पाउँथिन् ।

सानोबाले खाना खर्च भनेर केही देलान् र खाँउला भन्दै बस्नुपर्दा आफूले पढ्न नपाएकोमा उनलाई तेस्रो पल्ट नराम्ररी चित्त दु:ख्यो । त्यसपछि त उनले गन्ती नै गर्न छोडीदिइन् । त्यसरी चित्त त पाइला पाइलामा कति दु:ख्यो कति । चाहे सापटी लिएको पैसाको हिसाब राख्न नजानेर ठगिनु पर्दा होस् वा एक्सपाइरी डेट सकिएको सामान घरमा खोली हेर्दा पाएको धोका होस् । यदि क्षामाले बेलैमा पढ्न पाएकी भए जिन्दगीमा पटक पटक यसरी धोका, अपमान र हन्डर पक्कै खानु पर्थेन । तै पनि भोकै त बस्न सकिन्न नै। उनले हातले गर्ने कामहरू जस्तै पोते उन्ने, बत्ती काट्ने, ऊन काट्ने कामहरू कोठैमा ल्याएर गर्न थालिन् । आफूलाई पुग्ने आम्दानी हुन थाल्यो । क्षामाले भोकै बस्न परेन ।

कहिलेकाँही क्षामाले आफूलाई सिनेमा देखाउन लैजान सानोबासँग भन्थिन् रे । बदलामा सानोबा भन्थे अरे, तँलाई मैले घरमा काम गर्नलाई बिहे गरेको । सिनेमा देखाउन लान हो र ? यस्तो झुम्रो लुगा लाउछेस् । हेर्दा पनि यस्ती पाखे । मलाई शहराँ कस्ती केटी बिहे गरेछ भन्दैनन् ? तँ र मसँगै मिलेर सिनेमा हेर्न जान सुहाउँछ भन्ने सोचेकी ? उनलाई भन्न मन लाग्थ्यो “नयाँ लुगा लगाएको हेर्ने मन भए किनेरै देउ न त । आजसम्म बिहे पछि एकसरो लुगा किनेर दिएका छौ ?” तर उनले भनिनन् रे । सायद त्यतिबेला नयाँ ठाँउ र भर्खर भर्खरकै साथ भएर पनि क्षामाले जवाफ फर्काउन नसकेकी हुन् कि ।

दिनहरू त्यसरी नै बित्दै गए । एंव रीतले चिसो, धुलो, फोहर नभनी उनले काम गरिरहिन् । गर्दा गर्दै क्षामा एक दिन थला परिन् । उनलाई ज्वरोले समात्यो । विरामी पर्दा उनलाई सहयोग गर्ने उनै पेम्बा दिदी आइन् । सानोबा सधैँ झैँ बेपत्ता थिए । पेम्बा दिदीले नै सिटामोल खुवाइन् । मल्हम पट्टी गरिदिइन् । बेला बेलामा जाउलो खान दिइन् । तर ज्वरो बीसको उन्नाइस् भएन । त्यही मौकामा घरबेटीले सानोबाको गुल्ममा आइती विरामी भएको र झट्टै आउन भनी खबर गरिदिए । त्यहाँ उनको खोजी भयो र विरामी श्रीमती उपचार गराउन डेरामा पठाइयो । उनलाई क्षामालाई अस्पताल लान करै लाग्यो । अस्पताल त्यति टाढा त थिएन, २० मिनेटको बाटो थियो । उनले क्षामालाई अस्पताल त लगे तर डोहोर्याएर होइन, हिडाएर । त्यो पनि चार पाँच हात पर पर हुँदै । क्षामा भन्थिन् , “त्यतिबेला बिरामी हुँदा पनि सँगै डोहोर्याएर लगेनन् । कहाँ कहाँ घुम्ती वा दोबाटो छ, त्यहाँ बाटो भुल्छ कि भनेर ढुकेर बस्ने र जसै म त्यहाँ आइपुग्छु फेरी लामा लामा पाइला चालिहाल्ने । किनकी उनलाई पाखे जस्ती देखिने केटी आफ्नी स्वास्नी हो भनेर चिनाउन लाज हुन्थ्यो नि।” त्यसरी २० मिनेटको बाटो पनि क्षामालाई ४५ मिनेट लाग्यो अस्पताल पुग्न । पुगेर भर्ना भइन् । उनलाई टाइफाइड भएको रहेछ त्यो पनि ४ हप्ताको गर्भ बसिसकेको बेलामा ।

***

शान्ति जन्मिएकी बेला म र आमै क्षामालाई भेट्न काठमाडौँ गएका थियौँ । आमाले मेरो काठमाडौँ हेर्ने र क्षामालाई भेट्ने आग्रह टार्न नसके पछि मैले पहिलो पल्ट काठमाडौँ टेक्न पाएँ । हामी सरासर क्षामाकै कोठामा गयौँ । क्षामा शान्तिलाई काखमा लिएर खेलाउँदै थिइन् । त्यो रात हामीले सानोबुवालाई देखेनौँ । त्यसको भोली पल्ट पनि देखेनौँ । पर्सीपल्ट पनि देखेनौँ । तर क्षामा र आमैका सुखदु:खका कहानी भने साटासाट भइराखे । आमैले आफ्नो २ हप्ताको सुत्केरी बैनी र छोरीको राम्रो स्याहार गरिन् ।

सानोबुवा हामी आउने दिन देखि बेपत्ता भएका थिए । बेपत्ता हुनु अघि कसको भुडी बोकेर छोरी पाइस्, यो मेरो छोरी नै होइन भन्दै क्षामामाथि कति पटक जाइ लागे रे । सुत्केरी भएर आरामले बस्नु पर्ने बेला आइज छोरा कसरी बनाउनुपर्छ म देखाउँछु भन्दै क्षामालाई जर्बजस्ती गर्थे अरे ।

हरे !! कोही मानिस यतिसम्म निर्दयी र गिरेको कसरी हुनसक्छ ?

यति सुनिसके पछि आमा त रौद्र रुपमा पो आउनुभो । “कहाँ मुन्ट्या छन् खै ती ज्वाइँ भनाउदा राक्षस ? अब तँ यहाँ बस्दिनस् । हिँड् मसँगै । घरमा जे जति पाक्छ त्यही बाँडिचुडी खाउँला । यही एउटी छोरी हो तेरो, यसलाई निस्माको बाबालाई भनेर पढाउने हुर्काउने जिम्मा लिउँला । तेरो नि गर्ने हात अझै बाँकी नै छन् । किन सहेर बस्छस् यो सकस ?” आमाले यसै भनिन् । दिदीको कुराले क्षामा आत्तिइन् । “दिदी तिमी पनि त भेना कै भरमा बस्छ्यौ । त्यसमाथि तिम्रा नि ३ सन्तान छन् । निस्मा मात्र भएको भए त हुन्थ्यो नि । भोली गाह्रो हुन्छ ।” तर आमा मान्न तयार भइनन् । “हिड् परेको म व्यहोर्छु” भन्दै क्षामालाई घर लिएरै जाने अठोटमा पुगिन् । त्यो बेला आमाले लिएको निर्णय र उठाएको कदम जिन्दगीमा पहिलो पटक मलाई औधी मनपर्यो । मलाई आमाको छोरी हुनुमा गर्व लाग्यो । मलाई आमा औधी मनपर्यो । त्यसरी क्षामा हामी कहाँ नै बस्न आउने भइन् ।

घर आए पछि आमाले बुवालाई भन्नुभो “शहराँ आइती एक्लै परी, ज्वाइँको ठेगान नहुने रहेछ, कहिले कता कहिले कता, सुत्केरो नसकुन्जेल यतै बस्छे भनेर ल्याएकी । ”

***

घरमै बस्न थाले पछि अझ क्षामाका जीवनका पाना अझै खुल्दै जान थाले । क्षामालाई सायद नयाँ जीवन पाएको अनुभूति हुन थालेको थियो । म देख्थेँ उनी घरको धेरै काममा आमालाई सघाउँथिन् । बाँकी समय कहिले पसलमा गएर बालाई पनि सघाउँथिन् । अनि अझ बलियो भए पछि भने गिटी कुट्ने धन्दामा लागिन् ।

तिनताक मङ्गलबजारमा धमाधम घरहरू बन्न थालेका थिए । घर बनाउनका लागि मानिसलाई गिटी बालुवा पनि चाहिन्थ्यो । क्षामा जस्ता धेरैले गिटी कुट्थे । ती गिटी कुट्नेहरूका पनि आ–आफ्नै कथा थिए । कोही छोरा जन्माउन नसकेकाले घरबाट लखेटिएका । कोही सौता ल्याइएर धपाइका थिए । कोही आफूले प्रेम गरेका श्रीमानको घरमा अर्की श्रीमती पहिल्यै छ भन्ने थाहा नभएर फसेका । कोही मुग्लानमा काममा लाइदिन्छु भन्दै दलालबाट बेचिन बचेका त कोही बेचिएर पनि उद्धार भई फर्केकाहरू थिए । यद्दपी आफू घरबार बिहीन भए पनि अरुका घर बनाउने गिटी तयार गर्न दिन रात घाम पानी नभनी काम गर्थे । बेलुकी क्षामा आमैलाई तिनैका कहानी सुनाइरहेकी हुन्थिन् ।

अब मैले लुकेर उनीहरूको कुरा सुन्नु पर्ने बाध्यता थिएन । अब मलाई केट्केटी भनेर आमैले हेप्न छोडेकी थिइन् । यद्दपी यता उता काम गरेजस्तो गरेर, कहिले पढेजस्तो गरेर कुराहरू सुन्नु पर्ने हुन्थ्यो ।

क्षामा र आमा धेरै थरीका कुरा गरिरहन्थे । सानोमा गह्रै-गह्रा हामफाल्दै विरौटा खेतसम्म पुगी खेलेको र खेत नजिकैको खोलामा मारेका असला र पाहाका कुरा । नेप्टेको मेलामा खाएको उसिनेको हरियो मकै र टिम्मुरको अचारको कुरा । एक्लेबरमा हालेको दशैँको पिङ्गका कुरा । जुठे काइँलाले करेसाबारीमा फलाएका नासपाती बोटमा चढी नासपाती चोरेर खाएका कुरा । गोठालो जादाँ बिर्सेर गएको घुम र मुसलधारे पानीबाट बच्न ठूलओडारमा लागेको ओतका कुरा । कुरा न थिए । कहिल्यै सकिए जस्तो नहुने । एउटा सक्यो फेरि अर्को कुरा फुरिहाल्ने ।

यो बीचमा मैले एउटा भेउ चाहिँ के पाँए भने उनीहरू दुबैका बाल्यकालका कहानी तुलनात्मक रुपमा बिहे पछिका कहानी भन्दा रमाइला थिए । बाल्यकालमा पाएको दु:ख र हैरानीका आफ्नै व्यथा त थिए । यद्दपी त्यतिबेला पाएको दु:ख पछि सम्झिदा उनीहरूलाई दु:ख जस्तो पटक्कै नलागेको म पाउथेँ । ती दिनहरूलाई सम्झेर बरु झन् खुशी भएको जस्तो मैले देख्थेँ । दु:ख त जीवनको दोस्रो अध्यायतिर धेरै झेलेको जस्तो देखेँ । किनकी अर्काको घर गएपछिका दिनमा पाएका कष्ट सम्झिदा उनीहरूको मुहारमा त्यो हाँसो मैले खासै देखिनँ ।

त्यसरी विचार गर्दा मलाई के लाग्छ भने, मानिसले दु:खलाई बुझ्न सक्ने दुइटा तरिका हुँदो रहेछ । एउटा दु:ख भ्रम हो भने अर्को दु:ख वास्तविक । तर मानिसलाई चैँ दुवै खाले दु:ख वास्तविक नै हो भन्ने भ्रम हुँदोरहेछ । यदि समयको तराजुमा राखेर जोख्ने हो भने, जुन दु:खले पहिले भोगेकै बेला जस्तो साँच्चिको पीडा सम्झाउँदैन, उल्टो हाँस्ने बहाना दिन्छ, त्यो दु:ख भ्रम हो । तर जुन दु:खले भोगेकै बेला जस्तो अहिले पनि साँच्चिकै पीडा दिन्छ त्यो दु:ख चाहिँ वास्तविक दु:ख हो । यस्ता धेरै जस्ता दु:ख “भ्रम” र थोरै जस्ता दु:ख मात्र “वास्तविक” दु:ख हुने रहेछन् ।

उदाहरणको लागि आमा र क्षामालाई उबेला दिनभरको टन्टलापुर घाममा रापिएर धान रोप्नु जति दु:ख अरु केहीमा लाग्थेन । पछि धानका बोटले खेल्ने बयेली देखेर उनीहरूका दु:ख उडेर कता भाग्थ्यो कता । अर्कोतिर डोली चढेर पराइघर जानेबेला झरेको आँसु अहिले सम्झिने हो भने मनमा अझै कता कता गाँठो परे जस्तो हुन्छ अरे । भन्ने ले त “गम्की, आइतीले रोएर धेरै नाटक गरेका हेर् न ! आज रुन्छन् भोली बुढासँग नारिएर हाँस्दै हाँस्दै आउछन्” पनि भने । दुनियाँले बिहे पछि दुल्हन फर्काउन आउँदाका आमा र क्षामाको ओठमा अड्किएको हाँसो त देखे तर त्यस पछाडीको निरीहता र सम्झौता देखेनन् । कुन परिस्थितीमा कसरी छोरीहरूलाई घर बसाउने नाममा आफूले जन्मी हुर्की खेलेको घरबाट विस्थापित गरिन्छ । त्यो दु:ख त के हो र अरुका लागि । यो समाजमा विवाह गरेर छोरा मान्छे ससुरालीमा भित्रिनु पर्ने चलन यदि भएको भए के मेरी आमा र क्षामाले भोगिरहेको जिन्दगी यस्तै नै हुन्थ्यो होला ? के ती गिटी कुटेर गुजारा गरिरहेका दिदीहरूको समेत अवस्था त्यस्तै हुन्थ्योे होला ?

***

दिनहरू बित्दै थिए । क्षामाले गिटी कुटेर जम्मा गरेको पैसाले सानो खाजा पसल खोलिन् । पसलमा प्राय चिया, चना, अन्डा, चाउमिन यस्तै कुराहरू बेचिन्थ्यो । अब उनलाई गिटी कुट्ने जस्तो भारी काम गर्नु नपर्ने भयो । आम्दानी पनि राम्रै हुन थाल्यो । मङ्गलबजारमा उनी र ती दिदीहरूले कुटेको गिटीबाट बनेका धेरै घरहरू थपिइसकेका थिए । नयाँ नयाँ सरकारी/गैरसरकारी संस्था, बैङ्क इत्यादी खुलीरहेका थिए । मानिसका चहलपहल अनि व्यापार त्यही मात्रामा बढ्न थालेको थियो । व्यापारमा नाफा हुन थालेपछि क्षामा हाम्रो घर परतिरको अर्को घरमा डेरा लिएर बस्न थालेकी थिइन् । नजिकैको अर्को टहरामा उनको खाजा पसल चलेको थियो । क्षामाकी छोरी शान्ति मैले पढाउने बोर्डिङ्ग स्कूलमा प्लेग्रुपमा भर्ना भई पढ्न जान थालेकी थिई । क्षामाको अब एउटै सपना थियो, आफूले पढ्न नपाए पनि छोरीलाई धे….रै पढाउने अनि उसले जे चाहना राख्छे त्यो सबै पुरा गरिदिने । क्षामाको सपना सानै होला तर यो सानो तोडले आएको होइन भनी म बुझ्थेँ ।

प्लेग्रुपमा मैले पढाउन जानु त पर्थेन तर कहिलेकाहीँ ब्रेक टाइममा मलाई देखी भने फुच्ची “हाम्लो लिस्मा दिदी, लिस्मा दिदी” भन्दै मेरै काखमा लडिबुडी खेल्न आउँथी । शान्तिको तोतेबोलीमा म हुरुक्कै हुन्थेँ । मेरो मायामा चेपिएरै मर्ली भने जस्तो पनि हुन्थ्यो । उसकी आमालाई कस्तो हुँदो हो ! फुच्ची फेरि घरको साधारण लुगामा भन्दा स्कुलको ड्रेसमा अति नै राम्री देखिन्थी । भन्नेले भन्थे “बाउले त्यागेको सन्तान झन् कति राम्री हो । केटी भाग्यमानी छे जस्तो छ ।” भन्नेका छुच्चा तर चेपारे मुख ।क्षामाले अलि अगाडि देखि मसँग बेलुका खाना खाएपछिको समयमा पढ्न थालेकी थिइन् । अलि अगाडि मतलब उनले खाजा पसल भर्खर भर्खर खोल्दा ताका । किनकी खाजा दिए पछि बिल बनाउनुपर्थ्यो । ल्याएका सामानको हिसाब राख्नुपर्थ्यो । उनी एक्लैका लागि मात्र भए त सायद नपढे पनि जिन्दगी यसरी नै गुज्रिन्छ भन्ने हुन्थ्यो । तर अब शान्तिका लागि भए पनि साउ अक्षर जान्नु पर्ने थियो । त्यसमाथि सानैमा पढ्न नपाएर खानुपरेको ठक्कर र चोटका खाटा बसेका घाउहरू त छँदै थिए । गाँउमा प्रौढ कक्षाहरू नभएका पनि होइनन् । तर ती कक्षामा पढ्न कहिले मास्टर्नी नआइदिने । आए पनि कहिले पानीले रुझाउने, कहिले जाडोले सताउने । त्यसको साटो घरमै मसँग सुरक्षित रुपमा पढ्न ठीक मानिन् क्यार । क्षामासँगै मैले आमालाई पनि पढ्न आउनु भने, तर आमासँग क्षामाको जस्तो सपना र बाध्यता नभएर उनी आइनन् । भनिन् – “अब यो बुढेसकालमा पढेर के गर्नु ? कमाउने ल्याउने काम तेरो बाबाले गरेकै छन् । मलाई किन दु:ख गर्नुपर्यो ?” आमाले अझै अरुको भरमा बाँच्नुपर्दा कति दु:ख झेल्नुपर्दो रहेछ भनी गहिरिएर बुझेकै रहिनछिन् । बुझे पनि सायद बिर्सिइन् ।

***

यो बीचमा शान्तिले आफ्नी बाबा खोज्न थालेकी थिई । आमा, बाबा खोइ ? मिथुको बाबाले के के किनेर ल्याई दिनुहुन्थ । मेलोे बाबा खोई ? बाबाले मलाई माया गल्नु हुन्न ?”

“बाबा विदेश गका छन् । भोली पर्सी आउँछन् ल सानु ?”

भन्नलाई त भन्थिन्, तर उनलाई सानोबाको अत्तो पत्तो थिएन । घरतिरका मान्छे कहिलेकाहीँ थुमी बजारमा भेटिँदा उनले यति सुनेकी थिइन् – “हस्त बहादुरले घरबेटी कै बुढी उडाएछ । घरबेटीको छोराछोरीको बिचल्ली पारिदिएछ । हुन त त्यल्लाई आफ्नै छोरीको त मतलब छैन, अर्काका छोरछोरीको के चिन्ता ?”

क्षामा यता आएदेखिन् एक फेर पनि सोध खोज गरेको पत्तो छैन । यता आउनु अघि क्षामाले छोडीदिएको साँचो लिन जादा घरबेटीले “आइती त दिदी आएकी थिइन् उसैसँग गइन्” भन्दिएछन् । त्यसो भन्दा सानोबाले “जाओस्, जता गएर मरे पनि मलाई मतलब छैन । कुचोले बढार्नुपर्ने कसिङ्गर हावाले उडायो भैगो नि” सम्म भने अरे । यो कुरा पनि खोइ कता कताबाट सानोबाकै कुटुम्ब पर्नेले बाको पसलमा आउँदा सुनाएका हुन् । बाले आमा र क्षामालाई यो कुरा भनिरहँदा उनको मनमा के गुज्रिरहेको थियो म अनुमान लगाउन मात्र सक्थेँ ।

त्यसपछि क्षामालाई मैलै अझै कठोर र दृढ पाउन थालेँ । उनले अझै मेहेनत गरेर पढ्न थालिन् । अझै धेरै परिकारहरू खाजा पसलमा पकाएर पस्किन थालिन् । खाजा पसल टहराबाट उनी बसेको सिङ्गो घरमा सर्यो । विस्तारै उनको खाजा पसल शान्ति होटल एण्ड गेस्ट हाउसमा परिणत भयो ।

 

***

हिजै मात्रको कुरा हो । एक जना ख्याउटे, हेर्दै रोगी जस्ता लाग्ने बुढा मान्छे बासँग पसलमा केही कुरा गर्दै थिए । म तेल सकिएर पसलमा लिन गएकी थिएँ । बा भन्दै थिए – “पहिले आइतीको के विचार छ त्यो सुनौँ अनि मात्र के कसो भनौँला ज्वाइँ ।”

बाले छेउ मै खेलीरहेकी रेस्मालाई भने ए, जा त जा छोरी, तेरी क्षामालाई लिन सानोबा आका छन् भनेर भन्दे त उता ।

ती बुढा मान्छे जसलाई मैले सानोबा हुन् भनेर चिन्न सकिँन, भन्दै थिए – “आइतीलाई हजुरले सम्झाइदिनु भयो भने मानी हाल्छे दाजु । आखिर यत्रो दस बर्ष हजुर कै शरणमा बसेकी हो । मेरो नि अब यो दुनियाँमा आइती र छोरीबाहेक को छ र दाजु ? अब हजुरकै निगाहमा छ मेरो जिन्दगी ।”

बुवाले अचम्म मान्दै सोधे – “होइन, तपाईंको त अर्कै घरबार बसेको रे भन्ने सुनेको थिएँ त ।”

क्षामा नआइपुगुन्जेल सानोबाले आफ्नो दु:खका दिनहरू बयान गर्न थाले । “दाइ आइती यहाँ आएकी रहिछ । मलाई घरबेटीले भनेको हो । मैले पनि आफ्नो कामको व्यस्तताले लिन आउन भ्याइनँ । जहाँ होली सुखी नै होली भनेर । धेरै दिन आइती फर्केर नआए पछि मलाई पनि एक्लोपनले सताउन थाल्यो । त्यतिबेला मलाई रोशनीले खाना पकाएर दिने मेरो कोठा आएर सफा गरिदिने गर्न थाली । विस्तारै मेरो मन पग्लिदै गयो । उसलाई पनि आफ्नो पैसठ्ठी वर्षे बुढो भन्दा मै नै राम्रो लाग्न थाल्यो सायद । दस वर्षसम्म मैले आइतीको खोज खबर नगरेर गल्ती गरेकै हुँ । रोशनीको साथ पाएर मलाई यति भए पुग्छ भन्ने लागेको थियो । आज यो हालतमा पुगिएला भन्ने सोचेको थिइनँ । उसको बुढो गत साल मात्रै खस्यो । काठमाडौँको घर उसको अनि उसकै सन्तानको नाँउमा आउने भयो । रोशनी आफ्नै घरमा जाने भई । मैले पनि नजा भनिनँ । आफूले सुर्केपुङ्ग खुवाएर ल्याएको आइती अझै मरेकी छैन भन्ने सम्झेर आएको हुँ । ”

सानोबाले आफ्ना दु:खका कुरा पोखीरहँदा मलाई भने तिनले पाएको दु:ख पनि कहीँ दु:ख हो जस्तो लाग्यो । सायद क्षामाले उठाएको दु:ख आफ्नै आखाँले देख्दै र सानै देखि सुन्दै आएकीले होला । क्षामाका दु:खका पहाडमाथि उनका दु:ख तिलका दाना जति पनि लागेनन् । वास्तवमा ती त दु:खै होइनन् । सानोबा आफ्ना शौखलाई दु:ख भनिरहेका थिए ।

यता क्षामा अघि नै कतिबेला आँगनको डिलमा बसेर सानोबाका कुरा चुपचाप सुन्दै रहिछन् । कसैले पनि कुराको सुरमा उनलाई देखेनन् । क्षामालाई सानोबाको कुरा कहिले सकिन्छ र बोलौँ भएको रहेछ । भनिन् “ओहो आज त घाम पनि पश्चिमबाट उदाएको थियो कि क्या हो है काजी हस्त बहादुर ? धेरै दिन पछि दर्शन भेट बक्सिन आयौ त ! आज यो हावाले उडाएर लगेको कसिगरलाई पनि किन खोज्दै आयौ त ? नमरी बाँचे भगवानले यस्तो दिन पनि देखाउँने रहेछन् । ओहो नि !”

“होइन आइती मैले गल्ती गरेँ…” सानोबा स्पष्टीकरण दिने मुडमा देखिन्थे ।

उनको वास्तै नगरी क्षामाले फेरि भनिन् – “अब तिम्ले केही बोलीराख्नु पर्ने जरुरी छैन बुझ्यौ ? कसैको लागि हामी कुनै दिन घरको कसिङ्गर थियौँ होला । त्यसैले हामी पन्छियोस् भन्ने नै लाग्याथ्यो होला कसैलाई । तर तिमीले हावाले उडाइ लगेको भन्ठानेको कसिङ्गर अहिले माटोमा मिलेर मलिली भएकी छ । आफ्नै सिँचाईले बाँच्न सक्ने भएकी छ । र कसैले फेरि कसिङ्गर मानेर मिल्काउछ भन्ने पनि डर छैन अब यसलाई… न त मिल्काएर फ्याँक्नेको नै मतलब छ । त्यसैले तिमी जुन बाटो आएका थियौ, त्यही बाटो जाऊ खुरुक्क । मलाई तिम्रो एक रति पनि मतलब छैन बुझ्यौ ?

क्षामाले यसो भनिरहँदा सानोबा अवाक भए । बाबा असमन्जमा परे । मलाई भने क्षामाले आफ्नै पसलमा बनाएको ५ वटा तात्तातो जेरी खाए भन्दा बेसी स्वाद पर्यो । त्यो स्वाद अहिले सम्मन् जिब्रो मै गढी बसे जस्तो छ । सायद यो स्वाद मलाई जिन्दगीमा बिर्सिन गाह्रै हुनेछ ।

***

Kasingar, by Rita Shree Baramu, was first written in 2018 for Breaking the Bracket, a feminist fiction writing program hosted by Quixote’s Cove. 

Photo by Jakob from Pexels  

Leave a Reply

Your email address will not be published. Required fields are marked *