निर्दलीय पंचायती व्यवस्थाको अन्त्यतिर मेरो दाइ वामपन्थी राजनीतिमा होमिएदेखि गाउँको मेरो घर भूमिगत नेताहरूको अड्डा बनेको थियो | म सानै छँदा लामो दारी पालेका ‘कामरेड’हरूले मलाई चे ग्वेभाराका क्युबाली क्रान्ति-गाथा सुनाउने गर्थे, माओको सांस्कृतिक क्रान्तिको बखान गर्थे, रामेश र रायनका प्रगतिशील गीतहरूa म कण्ठस्थ सुनाउन सक्थें | “सर्वहारा वर्गको स्वाभिमान” साँच्चिकै शाश्वत राजनीतिक ध्येय जस्तो लाग्थ्यो | अहिले म आफूलाई औपचारिक रुपमा अन्तराष्ट्रिय राजनीतिको विद्यार्थी र अनौपचारिक रूपमा सामान्य राजनीतिक र सामाजिक चेतना भएको अहिंसावादी नागरिक ठान्छु |
४६ सालदेखि अहिलेसम्म आइपुग्दा नेपाली राजनीतिमा ऐतिहासिक परिवर्तनहरू भएका छन् | यीमध्ये राजतन्त्रको अन्त्य सबैभन्दा ठोस र स्थायी परिवर्तन हो | दश वर्षको माओबादी युद्धको अन्त्यपछि नेपाली राजनीतिले मारेको यो विशाल फड्कोसंगै नेपाली समाजले पनि पूर्णरूपमा काँचुली फेरेको छ | हिन्दु राजतन्त्रको निरंकुशताको चपेटामा नेपाली समाजमा प्रचुर विविधता इतिहासभरि गौण रह्यो | राजतन्त्र – मुख्यतः राजा महेन्द्रको पंचायती व्यवस्था – मा हिन्दु धर्म र नेपाली भाषा सांस्कृतिक आधिपत्य (कल्चरल हेजेमोनी) का शक्तिशाली आधारशिला बने | जातीय/वर्गीय असमानता र पितृसत्ताले नेपाली समाजलाई कुण्ठित गर्न थप टेवा प्रदान गरे | यो आधिपत्यलाई चुनौती गर्न नसक्नु सायद ४६ सालको जनआन्दोलनको सबैभन्दा ठूलो कमजोरी, र माओबादी विद्रोहको सफलताको प्रमुख कारण थियो | नेपालमा राजतन्त्रको अन्त्य आवश्यक र अपरिहार्य थियो | यदि त्यतिबेला राजतन्त्रसँग सम्झौता नगरिएको भए सायद हामीले विगतका दुई दशक गृहयुद्ध र राजनीतिक अस्थिरतामा खेर फाल्नुपर्ने थिएन |
हामी यतिखेर राजनीतिक विकासक्रमको एक अत्यन्त महत्वपूर्ण घडीमा उभिएकाछौं | हाम्रा अगाडी गम्भीर राजनीतिक अभिभारा थोपरिएकोछ | शासकीय स्वरूप, संघीयता, दिगो आर्थिक विकास – हाम्रा रोजाइले सम्भवत हाम्रो राजनीतिक र सामाजिक भविष्यको पथप्रदर्शन गर्नेछ | हाम्रालागि “लोकतन्त्र” सायद राजतन्त्रको अन्त्यपछि छर्लंग भएको एउटा मात्रै राजनीतिक वास्तविकता हो | विश्व-राजनीतिका विगत ५० बर्षको इतिहासमा विभिन्न तानाशाही राष्ट्रहरूले प्रजातान्त्रिक परिपाटी रोजेको कुरा हाम्रालागि मननीय हुनसक्छ | त्यसो त यीमध्ये कैयौं राष्ट्रले लोकतन्त्रलाई संस्थागत गर्न नसकेर “असफल” (फेल्ड स्टेट) भएका उदाहरणहरू पनि बिर्सन सकिदैन |
प्रजातान्त्रिक पद्दतिलाई अङ्गीकार गर्नेहरूका लागि भोट नहाल्नु पाप हो | यसमा मेरो विमति छ: लोकतन्त्रमा व्यक्तिवाद – जनता जनार्दनको एउटा महत्वपूर्ण पक्ष – हावी हुन्छ, र हुनुपर्छ | मेरो बुझाइमा यसको मतलब जाने-बुझेर भोट नहाल्नु पनि भोट हाल्नु जत्तिकै महत्वपूर्ण हुनुपर्छ | यसको अर्थ यो होइनकि मैले जानीजानी भोट हालिनँ भने त्यसको अभिप्राय मोहन बैद्यजस्ता अतिरन्जित, पुरातनबादी, मृतप्राय: विचारधाराहरूको समर्थन हुनेछ | हामीले यो बुझ्न जरुरि छ कि लोकतन्त्रको सबल संस्थापनामा विमतिको स्थान पनि महत्वपूर्ण हुन्छ |
संबिधानसभाको पहिलो चुनावताका म विदेशमा राजनीतिशास्त्रको विद्यार्थी थिएँ | नेपालमा भएको भए त्यो मेरो बालिग मताधिकारको पहिलो प्रयोग हुनेथियो | राजतन्त्रको अन्त्य गर्ने त्यो भोट सायद मेरा लागि व्यक्तिगतरूपमा अत्यन्त सन्तोषजनक हुनेथियो | यसपटक भने मैले जानीजानी मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराइनँ |
किन?
किनकि म हिन्दु राजतन्त्र र यथास्थितिवाद (राप्रपा नेपाल इत्यादि)को घोर विरोधी हुँ | प्रमुख तीन दल माओबादी, कांग्रेस र एमालेको राजनीतिक व्यापारिकरण र तुच्छ सर्वसत्तावादी महत्वकांक्षाको घोर विरोधी हुँ | अहिलेको जटील राजनीतिक पर्यावारणमा/परिस्थितिमा ‘विवेकशील नेपाली’ जस्ता पाटीका अदुरदर्शी, शहर-केन्द्रित, मध्यम-वर्गीय आकांक्षाहरू मलाई हास्यास्पद लाग्छ | हो हाम्रो राजनीतिमा नयाँपन चाहिएको छ, तर अहिलेको आवश्यकता भनेको कठीन राजनीतिक मुद्दाहरुलाई निकास दिनु हो, त्यसका लागि सामाजिक इतिहासमा बहस जरुरि छ, नेपालको ग्रामीण वास्तविकता बुझ्न जरुरि छ |
फेरिपनि यसको अर्थ यो होइनकि म लोकतन्त्रमा विश्वास गर्दिनँ — विल्कुल गर्छु | मेरो यो अविश्वास प्रजातान्त्रिक पद्द्तिप्रती नभएर नेपालको समसामयिक राजनीतिक दुर्बलताप्रति लक्षित छ | राजनीतिशास्त्रको विद्यार्थीको नाताले मैले बुझेको सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि तानाशाही समाजलाई बहुलवादी, लोकतान्त्रिक परिपाटीमा ल्याउन वृहत त्याग आवश्यक हुन्छ तर लोकतान्त्रिक पद्दति असफल भएर तानाशाही बन्न धेरै समय लाग्दैन | मलाइ यस मानेमा भोट हाल्न डर लागेको हो, कतै मेरो ‘कम खराबका लागि’ (लेसर अफ द इभिल च्वैसेस) भोटले सर्वसत्तावाद र तानाशाही आकांक्षालाई पोस्ने त हैन ?
देशलाई राजनीतिक निकास चाहिएको छ, त्यो म मान्छु | तर भोट हालेर मात्रै त्यो निकास पाइन्छ भन्ने कुरा भने म मान्दिनँ | सम्पूर्ण नागरिकको लोकतान्त्रिक दायित्वबोध मूलत: मताधिकारबाट हुन्छ भन्ने मैले बुझेको छु तर “भोट हाल्नै पर्छ” भन्ने अभिव्यक्ति भने मलाइ अलोकतान्त्रिक लाग्छ | भोट हाल्नुको अर्थ प्रक्रियामा सहभागी हुनु हो, भोट हालेर मात्र लोकतान्त्रिक पद्दतिमा सहभागी हुन सकिन्छ भन्ने होइन | हाम्रो सामाजिक आचरण लोकतान्त्रिक हुन आवश्यक छ, सामाजिक विभेद र उत्पीडनको अन्त्य गर्न भोट हालेर मात्रै पुग्दैन, त्यो पक्का हो |
लोकतन्त्रलाई सफल पार्न सबै नागरिकले आफ्नो भोट हाल्ने दायित्व निर्वाह गरिरहँदा, कसै कसैले सोचिदिने काम पनि गर्नुपर्ला कि ?




[…] http://www.lalitmag.com/2013/11/vote-nahalnu-ko-artha/ […]