मेरो नाम

अमर न्यौपाने | October 13, 2013

मधेसतिरबाट हाम्रो स्कुलमा एक जना शिक्षक आएका छन्। उनी अरु शिक्षकभन्दा धेरै जाती लाग्छन्। बेलाबेला मलाई भन्छन्  –  दिनको एक हरफ भए पनि दैनिकी लेख। नजाने पनि लेख। त्यसपछि आफै लेख्न जानिन्छ।

म भने दिनको सय हरफभन्दा पनि धेरै लेख्छु। तर मनमा, मनकै कलमले।

फागुन ७ गते, ०६८

किरियापुत्री बसेजस्ता डाँडापाखा। नौनी पग्लेझैँ हाम्रो घरवरिपरिका डाँडापाखाबाट हिउँ पग्लिन थाल्यो। हेर्दाहेर्दै केही दिनमै रापिला हातले हिउँको लुगा फुकालिदिएर डाँडापाखालाई बुङ्गै बनाइदियो घामले।

डाँडापाखा पनि मेरो शरीरजस्तै उराठ देखिए। मनै नरमाइलो भयो।

हिउँ पग्लेपछि जाडो बिदा सकिन्छ र स्कुल खुल्छ। कहिले त यस्तो लाग्छ, हिउँले हाम्रो स्कुलको ढोका बन्द गरिदिएको हो।

सरमिस हुन कति पढ्नुपर्छ मलाई थाहा छैन। धेरै पढ्नुपर्छ अरे। हाम्रो गाउँमा सर हुन सक्नेहरु सर भएका छन्  –  जम्मा दुई जना। स्कुलमा दसजना सर छन्। मिस र म्याडमहरु छैनन्। बाँकी आठजना सरहरुको घर मधेसतिर हो अरे। हिमाल र पहाडहरु नहुने ठाउँ। बदलामा ठूलाठूला जङ्गलहरु हुन्छन् अरे त्यहाँ।

ती सरहरु नेपालगन्जबाट जहाजमा यहाँ आएका हुन्। उनीहरु आफ्नो  गाउँमा सर हुन सके कि सकेनन् मलाई थाहा छैन।

मलाई पढ्न पर्छ भन्ने थाहा छ। तर, पढ्न मन लाग्दैन। सरहरुलाई पनि पढाउनुपर्छ भन्ने थाहा छ। तर, पढाउन मन गर्दैनन्। बाआमालाई पनि छोराछोरी पढाउनुपर्छ भन्ने थाहा छ। तर, स्कुलमा पढाइ नभएको दिन खुसी हुन्छन्। किनभने, म सानासाना भाइबहिनीलाई हेरेर बस्छु। बाआमा काममा जान पाउँछन्। त्यसैले हामी सबैको कुरा मिलेको छ।

बाले भनेका  –  सिमकोटको सबभन्दा ठूलो हाकिम खाद्यको हो अरे। मलाई लाग्छ, उसको भान्सामा सेतो चामलको कहिल्यै टुट्दैन। उसले कहिल्यै भोको बस्नुपर्दैन। ऊ एकदमै ठूलो, बलियो, र अग्लो होला। अनि सेतो चामलजस्तै सुकिलो।

आमा भन्छिन्  –  उसको घरमा त काम गर्नेहरुले पनि सधैं अघाइञ्जेल चामलको भात खान पाउँछन्।

मलाई लाग्यो  –  उसको घरमा काम गर्ने केटी भएर जान पाए कस्तो मज्जा हुन्थ्यो। यस्तो मौका त भाग्यमानी केटीहरुले मात्र पाउँछन् होला।

एकपटक सिमकोटबाट फर्किंदा ती खाद्यका हाकिम पनि बा र मसँगै हाम्रो गाउँ आउने भए। तर ती सेतो चामलको भात खाएका हाकिम त हिँडनै सकेनन्। म दौडन सक्ने उकालोमा उनलाई त हिँड्न पनि मुस्किल पर्‍यो। स्याँस्याँ गर्न थाले। यस्तो चिसो मौसममा पनि तिनको निधारबाट पसिनाको धारा छुट्न थाल्यो।

म त दंगै परेँ। उनले त आफ्नो  झोला पनि बोक्न सकेनन्। बाले बोकिदिनुपर्‍यो । उनी हिँड्न नसकेको देखेर बाले भने  –  सापलाई म घोडाको व्यवस्था गर्छु।

भैगो म सुस्तसुस्त हिँड्छु भन्दै उनी रोगी बूढो मान्छेझैँ पो हिँड्न थाले।

उनको साथमा हिँड्नुपरकोले सिमकोटबाट हाम्रो गाउँ ठेहे आउन पनि पाँच घण्टा लाग्यो। बा र म मात्रै भएको भए दुई घण्टा पनि लाग्ने थिएन।

अस्तिभर्खरको माघे संक्रान्ति मा धेरैपछि सेतो चामलको भात खान पाउँदा स्वाद मानीमानी दंग पर्दै खाएकी थिएँ। आमाले अघाइञ्जेल खा भनिन्। अघाइञ्जेल खाएँ। सधैं यसरी नै सेतो चामलको भात अघाइञ्जेल खान पाए म कस्ती हुन्थेँ होला?

मेरा छातीका करङहरु मैले गन्न नसक्ने गरी छोपिन्थे होलान्।

चैत २ गते, ०६८

चैत लागेको छ। अब त यी डाँडापाखाले हरिया लुगा लगाउनुपर्ने। अझै उस्तै छन्  –  नांगै।

चितवनबाट आएका कमल सरले भनेका  –  सिमकोट हाम्रो जिल्लाको सदरमुकाम हो अरे। हाम्रो गाउँबाट सिमकोट देखिँदैन। डाँडाले छेक्छ। म कतिपटक सिमकोट पुगेकी छु मैले गनेकी छैन। बीसपटक भन्दा धेरैपटक गएँ होला। जम्मा दुई घण्टामा पुगिन्छ। सिमकोट पुगेर फर्किनु त मलाई दाउरा खोज्न गएर फर्किएजस्तै लाग्छ।

पहिलोपटक सिमकोट जाँदा म छ वर्षकी थिएँ। अहिले नौ वर्षकी भएँ।

सिमकोटमा पहिलोपटक जहाज देख्ता यति ठूलो जहाज कसरी उडेको होला जस्तो लागेको थियो। जहाजभन्दा सानो मान्छेचाहिँ किन उड्न नसकेको होला? चराहरु त साना भएर उडे। तर, मान्छे ठूला भएकाले उड्न सक्तैनन् भन्ने लाग्थ्यो।

आमा भन्छिन्  –  जहाज पखेटाले गर्दा उडेको हो। मलाई लाग्छ  –  हातको सट्टा भगवान्ले पखेटा बनाइदिएको भए म पनि उड्ने थिएँ। भगवान्ले हात र पखेटामा कुनै एक रोज्न दिएको भए म पखेटा नै रोज्ने थिएँ। यदि त्यस्तो भएको भए सबैले मलाई मान्चरा भन्थे होलान्। मान्छे र चरा एकै ठाउँमा मिसिएकोले  –  मान्चरा ।

म मान्चरा भएको भए !

हाम्रो घरको दक्षिणतिर दोजाम कर्नाली बगेको छ। त्यही कर्नालीलाई नागेर जहाज हाम्रो घरमाथिको आकाशको बाटो हुँदै सिमकोटतिर मोडिएर जान्छ। मोडिँदा पल्टिन्छ कि झैँ कोल्टे पर्दै जान्छ। त्यसरी कोल्टिँदै गएको म पनि कोल्टीकोल्टी हेर्छु।

राम्रो मौसम भएको बेला त दिनमा सातआठओटा सम्म जहाज आउँछन्। कहिले थाडामा, कहिले कान्लाको डिलमा बसेर बेलाबेलामा म हाम्रो गाउँको आकाशबाट सिमकोटको एयरपोर्टतिर हानिँदै मोडिएका जहाज गनिरहेकी हुन्छु।

आमा भन्छिन्  –  जहाजले मान्छे मात्र होइन चामल, दाल, मासु, दोकानमा पाइने चाउचाउ, बिस्कुट, साबन, लुगा जस्ता सबै सामानहरु पनि बोकेर ल्याउँछ। सिमकोटको बजारमा पाइने सबै सामानहरु जहाज चढेर नै आएका हुन् अरे।

ओहो! मैले जहाज चढेकी छैन। तर, जहाज चढेर आएको चामल खाएकी छु। जहाज चढेर आएका लुगा लगाएकी छु। सायद त्यसैले होला, सपनामा म जहाज चढेकी हुन्छु।

हाम्रो घरमा चामल छैन। मेरा लुगा पनि खासै छैनन्। किन्ने पैसा पनि छैन।

हाम्रो घरमाथिको आकाशबाट त्यसरी कोल्टे परेर जाँदा, जहाज अलक्क हाम्रो घरअगाडिको बारीमा खसिदिए हुन्थ्यो नि जस्तो लाग्छ। त्यसरी जहाज खसिदिए म दौडिँदै जान्थेँ र आफूले बोक्न सक्नेजति चामल, दाल, साबन, चिनी, लुगाहरु बोकेर ल्याउथेँ।

वैशाख ५ गते, ०६८

बल्ल हरिया देखिन थाले  –  डाँडापाखा। के गर्नु, नेपालगन्जबाट हाम्रो हुम्लाको यो सुदूर गाउँमा वसन्तका दिन आउन पनि एक महिना लाग्छ। सबै राम्रा कुरा नेपालगन्जबाट जहाज चढेर आउने भएकोले वसन्त पनि नेपालगन्जबाट जहाजमा चढेर आउँछ जस्तो लाग्छ। गरिब मान्छेले झैँ वसन्तले पनि हुम्ला आउने जहाजको टिकट नपाएर नेपालगन्जमै अल्मलिन पर्‍यो होला एक महिनासम्म।

हाम्रो गाउँमा आउने वसन्तका दिन पनि गरिब छन् सायद। त्यसैले ब्ल्याकमा टिकट किनेर तुरुन्तै हुम्ला आउन सक्तैनन्।

जेठ ३ गते, ०६८

वैशाख लाग्दा पनि अझ गर्मी लागेको थिएन। जेठ लागेपछि बल्ल अल्लि न्यानो बढ्न थालेको छ। जेठअसार मलाई मन पर्छ। यस मौसममा पातला लुगा लगाएर कुद्न पाइन्छ।

जाडो महिनामा लुगाले जीउलाई थामिराख्छ। तर, गर्मी महिनामा जीउले लुगालाई पाखापाखा उफार्छ।

कहिले त म कट्टु मात्र लगाएर थाडा र पाखातिर उफ्रिन्छु। यस्तो बेला हरिया लुगा लगाएका यहाँका पहाडहरुले पनि मलाई हिउँ पग्लेको पहाडजस्तै देख्छन् होला।

आमा भन्छिन्  –  लुगा फुकालेपछि त तँ भुत्ल्याएको कुखुराजस्तै देखिन्छेस्।

म भने सोच्छु  –  कुखुरा नभनेर आमाले बरु मलाई आकाशमा उड्ने कुनै पनि चरा भनिदिएको भए कत्ति खुसी हुने थिएँ होला। हुन त म कुखुराजस्तै त हुँ। यो चरी आकाशमा उड्न सक्तिन। डाँडापाखमा मात्र कुखुराझैँ धूलोमाटो खोस्रेर खेलिरहन्छे।

कुखुरा भने पनि ठिकै थियो। किनभने, चरापछि मलाई मन पर्ने भनेको कुखुरा नै हो। सुनौला कुखुरा झन् मन पर्छन् मलाई। मेरी आमाका नाक, कान, घाँटीमा मात्र सुनका गहना छन्। तर, सुनौला कुखुराले त झन् सुनकै लुगा लगाएजस्तो लाग्छ।

अर्को कुरा  –  कुखुरालाई म भेट्टाउन सक्छु। उनीहरु सँगसँगै दौडिन सक्छु। तर, आकाशका उडेका चराहरुलाई म भेट्टाउन सक्तिनँ। त्यसैले पनि मलाई सुनौला कुखुरा मन पर्छ।

तर, आमाले मलाई तँ भुत्ल्याएको कुखुराजस्तै देखिन्छेस् भन्छिन्। यस कुराले मलाई झसंग  झस्काउँछ। लाग्छ, मसँग सुनका पंख छैनन्। ती मेरो शरीरमा नउमिँ्रदै खोसिएका हुन्। यसरी पंख नखोसिएको भए बाआमाले मलाई लुगा किनिदिनुपर्थेन। लुगा किन्ने पैसाले सेतो चामल किन्नुहुन्थ्यो।

तैपनि प्रायः म यस्ता कुरा बिर्सिएर धूलो माटोमा खेलिरहेकी हुन्छु। धूलोमैलो त मेरो शरीरमा छालाझैँ टासिएजस्तो लाग्छ, मानौं उसलाई फ्याँक्दा मलाई दुख्छ।

मेरा हात फोहोर छन्। तर, मलाई त्यत्ति फोहोर लाग्दैनन्।

गर्मी महिना भएकोले म कट्टु मात्र लगाएर धूलो माटोमा भाइबहिनीहरुसँग कुखुराले झैँ खेल्दै छु। मेरो शरीरमा कति हाडहरु छन् मलााई थाहा छैन। तर, मेरो छातीमा कतिओटा करङ छन्, मलाई थाहा छ। सरले सोधे भने म फ्याट्टै भन्न सक्छु। मानिसको शरीरमा कति करङहरु हुन्छन् भनेर स्कुलको किताबमा लेखेको छ कि छैन, थाहा छैन।

असार ७ गते, ०६८

एक दिनको असारे कुरा।

मैले त अहिलेसम्म फिलिम हेरेकी छैन। तर, फिलिमको गीत हेरेको छु टीभीमा। टीभी सिमकोट जाँदा देखेको। राम्राराम्रा देवीदेउताजस्ता ठिटाठिटीहरुले लाज हुने कुरा गर्दै नाचेका थिए  –  कहिले फूलबारीमा मस्किँदै, कहिले झरनामा रुझ्दै। कहिले त तिनीहरु राम्राराम्रा लुगागहना लगाएर, खुब सिँगारिएर नाचेका पनि हुन्थे। मैले दंग परेर हेरेकी थिएँ। कसरी तिनले गाउँदै त्यति मीठो नाच्न सकेका होलान्? स्वर पनि कति मीठो।

तर पछि मेरी दिदीले बुझाइन्  –  गाउने मान्छे त अर्कै हुन्। ती नाच्नेले त मुख मात्र चलाएका हुन्। झट्ट मेरो मनमा यस्तो भावना पनि आयो  –  नाच्ने मान्छे पनि अर्कै हुन्, तिनले त हाउभाव मात्र गरेका हुन्।

आज गाउँभरि एउटा नयाँ हल्ला फैलियो। ती हिरोहिरोइनजस्तै केही मान्छे आउँदै छन् भनेर म पनि दाइदिदीहरुभन्दा अगाडि नै दौडेर स्कुलको चौरमा पुगेँ। सबैभन्दा धेरै त हामी केटाकेटीहरु नै थियौं। हुन त हाम्रो गाउँमा केटाकेटी नै धेरै छन्। हामी, दाइदिदी, बाआमाहरु बिहान नौ बजेदेखि नै तिनीहरु आउँछन् भनेर हेलिकोप्टर कुरिरहेका थियौं।

सरहरुले पनि आज स्कुल बिदा गरिदिएका थिए। किनभने, स्कुलको आँगनमा हेलिकोप्टर बस्तै थियो।

धेरैबेरपछि हेलिकोप्टर आउँदै गरेको देखियो। आवाज सँगसँगै त्यसको आकार पनि ठूलो हुँदै आयो। जति नजिक आयो त्यति आवाज बढ्दै आयो। जब हेली बस्नै लाग्यो, हामी साथीहरुले एकअर्कासँग बोलेको पनि नसुन्ने भयौं। बोल्नु पर्ने पनि थिएन। किनभने, आँखा र कान मिलेर मुखलाई बोल्नै दिएका थिएनन्। झन्डै ती हिरोहिरोइनजस्तै राम्रा मान्छेहरु हेलिकोप्टरबाट ओर्लिए। हेलिकोप्टर बस्ता हाम्रो स्कुलको सुक्खा चौरको धूलो खुब उड्यो। हामी सबै धुलाम्मे भयौं।

हेलिकोप्टर हाम्रो स्कुलअगाडिको चौरमा बस्यो। हेलिकोप्टर बस्दा ठूलै हुरी आएजस्तो लाग्यो। लाग्यो, हेलिकोप्टरलाई आफैभित्रको हुरीले उडाएका हो क्यारे।

हेलिकोप्टरको हुरी बन्द हुनै लाग्दा त्यहाँबाट छ जना मान्छे फुतुफुतु बाहिर निस्किए। दुईजना त आइमाई पनि। भीड झन् बाक्लो बन्यो। मैलो भीडमा कोचिँदैकोचिँदै घुसि्रएर म पनि अगाडि पुगेँ। तिनिहरुका अनुहारमा खुब गहिरिएर हेरेँ। हेरिरहेँ।

मलाई सबैभन्दा राम्रा लाग्छन् देवीदेवताहरु। आमाले भान्छाको दाहिने कुनामा देवीदेवताका फोटाहरु टाँस्नुभएको छ, जहाँ आमाले दिनदिनै पूजा गर्नुहुन्छ। ती देवीदेवताभन्दा पनि मलाई हिरोहिरोइन राम्रा लागे।

दिदीले आफू सुत्ने ओछ्यानछेउको भित्तामा राम्रा तन्नेरी लाग्नेमान्छेको अँगालोमा बाँधिएका राम्रीराम्री केटीहरुको फोटो टाँसेकी छिन्। दिदी भन्छिन्  –  यी हिरोहिरोइन हुन्। फिलिममा खेल्ने।

मलाई त ती छ जना नै हिरोहिरोइनजस्तै लागे। त्यही हाम्रो घरको फोटोमा भएजस्तै राम्रा। त्यसमा पनि एउटी आइमाई त साह्रै राम्री। गोरी। सुकिली। तिनको त सप्पै कुरा सुकिलो।

तिनीहरु हाम्रो सबै घरहरु एकै ठाउँमा झुरुप्प जोडिएको ठाउँमा आए। दिदीले भनेकी ती फिलिम सुटिङ गर्न आएका अरे। तर हाम्रो सरले भने  –  डकुमेन्ट्री बनाउन आएका हुन्।

हामी सुदूर गाउँलेका पैतालाले टेकेको धूलोमैलो माटो उड्दै थियो, ती सुकिला मान्छेहरुको सुकिलो अनुहार र लुगाहरुमा टासिँदै थियो। मलाई डर लाग्यो  –  हाम्रो गाउँको धूलोमाटोले कतै ती देवीदेवताजस्ता राम्रा र सुकिला मान्छेहरुलाई हामीजस्तै मैलो बनाइदिने त होइन? र ती राम्रा पाहुनाहरु हाम्रो गाउँसँग रिसाउने त होइनन्?

तर ती खुशी र दंग नै देखिए। तिनले ल्याएको सुकिलो मैलिसकेको थिएन। हामीहरुले पूरै नबुझिने भाषामा एकअर्कासंग केके कुरा गर्दै थिए। हाँस्ता देखिने तिनका सुकिला दाँत हिउँजस्तै सेता र चम्किला थिए।

दुई जना हिरोइन र चार जना हिरो। तिनले बोकेको झिलिक्क बिजुली चम्किने कुरा क्यामेरा अरे।

साउनेपूर्णिमाको दिन माडुमा धामी बस्ता हुनेजत्रै भीड। गाउँभरिका मान्छे तिनले कसरी फिल्म खिच्ने हुन् भनेर हेर्न आएका। भीडको माझमा धामी र डाङ्ग्रीको सट्टा ती राम्राराम्रा मान्छेहरु गाउँलेहरुलाई केके कुरा भनिरहेका थिए।

उनीहरुले हाम्रो गाउँ, गाउँले र गाउँलेको चालचलनलाई क्यामेराले खिचेर लैजाने अरे। र, सहरका ठूलाठूला मान्छेहरुलाई देखाउने अरे। सरकारलाई पनि देखाउने अरे। गाउँलेहरुले ती सुकिला मान्छेहरुसँग भने  –  सरकार हाम्मो गाउँसम्म आउन सकेन। हाम्मो सप्पै दुःख खिचेर सरकारलाई दखाइदेऊ है सर !

ती मान्छेहरुले भने  –  चिन्ता गर्नुपर्दैन। तपैंहरुको सबै कुरा हामी सरकारलाई देखाइदिन्छौं। त्यसपछि सरकारले तपैंहरुको गाउँमा विकास लिएर आउँछ।

हाम्रो गाउँका बूढा धामीले भने  –  सरकार आफू एक्लै त आउन सक्याको छैन। तेति गह्रुंगो विकास कसरी बोकेर ल्याउन सक्ला सरकारले?

एउटी राम्री हिरोइनजस्तै युवती मेरो नजिक आउँदा फूलबारी नै मेरो नजिक आएजस्तो लाग्यो। उनीसँगै एउटा थुँगा फूलजति मात्र होइन, सयौं थुँगा फूलको जति वासना आइरहेको थियो।

सिस्नोको झ्याङले झैँ हेरिरहेँ मैले। उनीहरुका अगाडि म आफू र हामी सबै गाउँलेहरु सिस्नुको झ्याङजस्तै लाग्यो। उनको कपाल आमाले सुनाउने कथामा सुनकेस्री रानीको कपाल जस्तै। सायद जीउडाल पनि त्यस्तै। यी हिरोइनको कपाल पनि सुनजस्तै, जीउको रङ पनि त्यस्तै ।

थाहा छैन, कहिलेदेखि मैले नुहाएको छैन? मेरो नाकबाट बाक्लो सिँगानको झुन्ड माथिल्लो ओठको कुलेसोमा झुण्डिरहेको मैले थाहा पाएँ। फ्याँक्नुपर्नेमा सधैं झैँ माथि नै तानेँ।

सुनकेस्रे रानीले मेरा जगल्टा सुम्सुम्याउँदै सोधिन्  –  तिम्रो नाम के हो?

म बोलिनँ। उनी हाँसिन्। उनी हाँस्ता झन् मत्मत्याउँदो भएर आयो उनको शरीरबाट सुगन्घ, मानौं उनको शरीर नै फूलको एउटा ठूलो थुँगा हो। तर, उनलाई र उनको हाँसोलाई अलि परबाट मात्र हेर्न मन लाग्यो मलाई। उनले आफ्नो  नजिक बोलाइन्। मलाई नजिक जान मन लागेन।

उनी नै मेरो नजिक आइन्। र, मलाई छोइन्। मलाई पीडाजस्तो भयो। उनले छुँदा झन् धेरै वासना आए पनि मलाई नछोईदिए हुन्थ्यो नि जस्तो लाग्यो। मेरी आमाले यसरी छुँदा म कत्ति धेरै रमाउँछु, आमासंग लुटुपुटु गर्छु।

यी हिरोइनले छुँदा मलाई देवीले छोएजस्तो हुनुपर्ने ठाउँमा किन पीडा भइरहेछ?

उनले मेरो कैयौं दिनदेखि काइँयोको मुख नदेखेको, लट्टा परेको कपाल मुसार्दा मलाई घाउमा छोए जस्तो हुन्छ। धेरै भएको थियो थियो आमाले जुम्रा टिपिदिएकी थिइनन्। टिप्न खोज्दा मैले दिएकी थिइनँ।

सबैभन्दा लाज र डर मेरो मैलो उनको सुकिलो हातमा सर्छ भनेर लाग्छ। मेरो मैलो उनको हातमा सरेजस्तै उनको सुकिलो मेरो शरीरमा सरिदिए हुन्थ्यो नि।

ती हिरोइनको उमेर तीस वर्षजति भयो अरे। मेरी आमा पनि तीस वर्षकी भइन्। तर, मेरी आमा उनको अगाडि धेरै बूढी देखिन्छिन्। उनले त मेरी आमालाई आमा भने पनि सुहाउँछ। यसरी ढिलो बूढी हुनेहरु मर्न पनि ढिलो मर्छन् होला। सहरमा बूढी नहुने औषधि पाइन्छ कि? सुनकेस्रे रानीले त्यही बूढी नहुने औषधि खाएकी होलिन्। अनुहारमा लगाएकी पनि होलिन्।

उनले मेरो फोटो पनि खिचिन्। आँधी आएको बेला बिजुली चम्केजस्तै भयो। म पनि फिलिममा आउँछु कि जस्तो लाग्यो। तर, सोध्न सकिनँ। क्यामेराका आँखाले हेर्दा पनि मलाई खुब लाज लाग्यो।

मेरा साथीहरुले भने  –  अब तिमी फिलिममा आउँछ्यौ।

लाग्यो, फिलिममा आएँ भने म पनि यी सुनकस्रे रानीजस्तै हुन्छु होला। धामीले हेराउँदा म धेरै भाग्यमानी छु भनेका थिए अरे। म त्यही भाग्य कुरिरहेकी छु।

अहिले ती सुनकेस्रे रानीले नाम सोध्दैछिन्। म खुट्टाको बूढी औंलाले भुइँ कोट्याइरहेछु। जति सोध्छिन् उति मेरा खाली खुट्टा माटोमा धसिएजस्तो लाग्छ।

उनले धेरैपटक सोधेपछि मैले उसरी नै भुइँ कोट्याउँदै भन्छु  –  रुप्सी …

उनिले सोध्छिन्  –  रुप्सी भनेको के हो?

मलाई आफ्नै नामको अर्थ थाहा छैन। तर म थाहा नभएको जस्तो होइन, लाज मानेर नभनेको जस्तो गरिरहन्छु। उनले मेरो नामको अर्थ नजानेरै सोधेकी होलिन्, मेरो बोली सुन्न र मेरो जाँच लिन होइन।

धेरैपटक सोधेपछि मेरो आडैमा बसेकी नौ कक्षा पढ्ने मेरी दिदी भन्छिन्  –  राम्रो रुप भएकी।

म पनि पहिलोपटक आफ्नो  नामको अर्थ जान्दै छु।

उनले सोध्छिन्  –  तिम्रो नाम त यो भुइँको माटोमा लेखेको छ कि क्या हो?

छैन भनेर टाउको हल्लाउँछु।

–  किन खुट्टाको बूढी औंलाले भुइँ कोट्याउँदै आफ्नो नाम भनेको त?

म केही बोल्दिनँ। बोल्न पनि सक्दिनँ। मेरी आमा पनि यसरी बाहिरबाट आउने मान्छेहरुसँग बोल्दिनन्। आमा भन्छिन्  –  तलिका मान्ठ हाम्मो कुरा बुझ्दैन।

तर म भने यसै नबोलेको, लाज र डरले।

लाग्छ, साँच्चै मेरो नाम यहीको धूलोमैलो माटोमा आफ्नै पाइलाहरुले लेखेको रहेछु !

म त हातखुट्टा दुवैले म आफ्नो  नाम लेख्न सक्ने रहेछु। हातले त भर्खर आफ्नो  नाम मुस्किलले कापीमा लेख्न सक्ने भएकी छु। तर, खुट्टाले भने यहाँको धूलोमैलो माटोमा।

मैले लेख्ने दुईथरी कापी रहेछन्  –  कागज र माटो।

अनि मनमा, मनकै कलमले। रुप्सी … रुप्सी … रुप्सी …

 

(मदन पुरस्कार विजेता अमर न्यौपानेको यो कथा ललित साहित्यिक पत्रिकाको पहिलो संस्करणमा सम्मिलित थियो।  नेपाली लेखकहरूको अंग्रेजी भाषामा लिखित आख्यानको संगालोको रूपमा ललित साहित्यिक पत्रिकाको दोस्रो संस्करण छिट्टै प्रकाशित हुँदै छ )

 

One response to “मेरो नाम”

  1. Suman Raseek Bajgain says:

    Amar dai ko Seto Dharti padheko thiye; aaja daile lekhnu vayeko katha pani padhna payiyo…saarai ramro lagyo..jaadu daiko kalam ma ho ki daima nai ho, bujhnai garho..

Leave a Reply to Suman Raseek Bajgain Cancel reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =

malukutoto sumbawatoto papuatoto cancertoto oyatoto oyatoto medan4d situs toto iramatogel vikingtoto gerhanatoto percaya4d