साने घर्तीको कविता

नयन पोखरेल सिन्धुलीय | January 18, 2013

घर्तीको छोरो भए पनि

त्यो फटाहा सानेको निशानाचाहिं मान्नै पर्ने हो

हामी सानै छंदा

थोत्रा साइकलका टायरबाट गुलेली बनाएर

नांगेडांडामा मकै रुग्न जाँदा

त्यो बुढो कदमको रुखबाट

एक एक सुगा खसाल्थ्यो …

 

मैले साने घर्तीलाई नदेखेको १५ बर्ष भएको थियो

सामाजिक उत्पीडनभित्रको उसको गरिबी र

बाहुन उच्च-संस्कारभित्रको मेरो सामान्य हुर्काईबीचको दुरी

त्यो बुढो कदमको रुखझैँ विशाल थियो

जसको फेदमुनि कैयौंपटक मैले

झुत्रे साने घर्ती पिटिएको दृश्य

हाँस्दै, ताली बजाउंदै हेरेको थिएँ |

 

१५ वर्ष पछि उही बुढो कदमको फेदमा साने घर्तीलाई भेट्दा

कता-कता साने घर्ती र मेरो स्थान उल्टिएझैँ लाग्थ्यो

मेरो अगाडी ऊ महाभारत पारीपट्टिको गौरीशंकर हिमालजस्तै

एउटा कठोर सालिकजस्तै उभिएको थियो

म भने छातीभित्र एउटा अनौठो आत्मग्लानीको खहरे बोकेर

आफैंलाई सम्हाल्न संघर्ष गर्दैथिएँ

 

त्यो साँझ उही चाउरिएको कदमको फेदनेरी बसेर

साने घर्तीले मलाई एउटा कबिता सुनायो …

 

भनिन्छ नलेखिएको कविता मर्छ

र त्यो नलेख्ने मान्छे एउटा मसान बन्छ

तर यो कुनै कविता हैन

यसमा कुनै लय छैन कुनै ताल छैन

सौन्दर्य सिंगार्ने कुनै रस छैन

यहाँ केवल टुक्रिएको जीवनको अवशेष छ

बुझक्कड, र विद्वान भनौदाका

चर्का स्वरमुनि थिचिएका र तंछाडमछाड नाराबाजीमुनि मिचिएका

आवाज खोसिएका मानिसको निस्वार्थ भोगाई छ

यहाँ एउटा नसल्झिने घाऊ छ, आँसुको एउटा नसुक्ने धारा छ |

 

यसमा कुनै छन्द छैन, शब्द पनि छैन यसमा

बेदनामा टुटेको एउटा भाका  छ

जीवनदेखि हार खाएको एउटा क्रान्तिकारी आवाजमा

उत्पीडनको गाथा छ  –

 

बैज्ञानिक –

बिजुली निकाल्न आणविक बमको आविष्कार गरेर

कति सहरहरु ध्वस्त बनाएपनि

सामाजिक प्रगतिको श्रेय लिन छाडेका छैनन्

हिउँ पग्लिएर टापूहरु डुबिरहेको बेला

मंगलग्रहमा पर्यटन प्रबर्धन गर्दैछन्

 

अर्थसाश्त्री –

थोरै मालिक धेरै नोकर – एउटा व्यवसायिक वास्तविकता

थोरै पाउन धेरै गुमाउनु पर्ने – मुल्य चुकाउनै पर्ने

असमानतालाई ग्राफमुनि लुकाएर

अफ्रिकामा गरिबी बेचिरहेका  छन्

 

नेता –

टोपीमा देशप्रेम ढल्काउँछन्

लोकतन्त्रका लागि गोली र गुण्डागर्दी काफी छ

कि तिनलाई हामी भोट दिन्छौं

कि उनीहरुले नै खोसेरै लग्छन्

 

क्रान्तिकारी –

राजनीति गर्ने शीप नभएका लाटोकोसेराहरु

बुर्जुवा संस्कृति को सामाजिक कायापलट गर्न

अशक्त, नाबालकको झोलामा ग्रिनेड राखिदिने

ऋतुभन्दा चाडैं परिवर्तन हुने

एउटा दुर्भाग्यपूर्ण भिड

 

लेखक, पत्रकार, बुद्धिजीवी – सबै व्यापारी

हाम्रा गरिबीका बारेमा दर्शन छाँट्दै

फेद न टुप्पाका लेख र उपन्यासहरुमा

अन्तर्राष्ट्रिय सहानुभूति खोज्दैछन्

तिनीहरुका आख्यानभन्दा

हाम्रा वास्तविकता सशक्त छन्

 

मेरो देशका युवाहरु –

गरिबीले लखेटिएर लाखौँको संख्यामा

अरब र मलेसियामा पुगेर

आधुनिकताका दास बनेका छन्

कतै हात काटिएका छन् कतै मारिएका छन्

अन्त कतै

युरोप र अमेरिकामा हाम्रा भोलिका कर्णधारहरु

हाम्रो भविष्यको नक्सा कोर्दैछन र

कुर्लिदैछन् सामाजिक संजालहरुमा 

 

साने घर्तीले अचानक कविता भन्न रोक्यो

उसको अचल आँखामा यतिखेर एउटा अनन्त सलबलाईरहेथ्यो

खुइलिदै गरेको जिन्स प्यान्ट घुंडामाथि सार्दै

उसले मलाई एउटा आधा सल्झिएको घाऊ देखायो –

“जनयुद्दको नासो”

ऊ यतिखेर कतै क्षितिजपारी टोलाइरहेको थियो

“एउटा निको नहुने घाऊ” |

 

भिमानको आक्रमणमा मैले मेरो अन्तिम ग्रिनेड फालेको थिएँ

त्यो रात मा सुत्न सकिन

चारैतिर लास – चारैतिर झुटको खेति

मलाई संख्या नसोध

त्यही रात मैले भगवानको, माओको

राजा अनि मेरा नेताहरु सबैको फोटो एकैठाउँमा जलाएँ …

 

पोहोर साल मेरो अर्थासाश्त्रको डिग्री सकियो

साने घर्ती यतिखेर इतिहासलाई बिर्सन खोजिरहेको थियो

“डिस्टिंगसन्”

 

त्यस पछि त्यो साँझ साने घर्ती बोलेन

म कत्लेशिखर माथिका बाक्ला, डरलाग्दा बादलसंगै

लुकामारी खेलिरहेको चन्द्रमालाई हेर्दै टोलाइरहेको थिएँ

म साने घर्तीलाई केहि भन्न चाहन्थे

तर मलाई थाहा थिएन

साने घर्तीको अर्थशास्त्र को डिग्रीलाई बधाई दिउँ

या उसको कवितालाई सहानुभूति

  

मात्र, कदमको टुप्पामा रोइरहेको एउटा कोइलीले

त्यो बेजोड सन्नाटालाई चिरिरहेको थियो …

2 Responses to “साने घर्तीको कविता”

  1. Mekh Moktan says:

    there is a beautiful portrayal of the reality

  2. ??????? ?????? says:

    ???? ??????? ????? ????? ???? ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *