[metaslider id=234]
आफ्नो सानो, खिस्रीक्क परेको खेतमा उभिएकी सुन्दरी देवी । बर्दियाको एउटा राजमार्गको छेउमा सरकारले दिएको जमिन । भर्खरै जोतेर फर्काइएको खेतको माटो । मनसुन आधा बितिसक्यो तर आकाशमा चर्न छोडिएका जर्कटा भेंडाजस्ता छरिएका बादल बाहेक पानी पर्ने छाँटकाँट कतै छैन । हतारमा रित्तिँदो सानो नहरलाई छिमेकीसँग मागेर ल्याएको पम्प र पाइपले हतारमै खेतमा खनाइँदै छ । नहर वारिपट्टि बिजुलीको पोलमा खप्पर र नली हाडको चित्र खतराको सम्भावना देखाएर तर्साउँछ । सुन्दरी देवीको झुपडी नजिकै छ – उनका नातिनातिनाहरू धूलोमा खेल्दैछन्, स्कूलको होमवर्क सकाउँदै छन् ।
वरिपरि हेर्दा खासै झलीमिली छैन । त्यो स्थिर पल खेती–किसानीको दुनियाँको एउटा साधारण क्षण मात्रै हो । तर त्यो क्षणको तुच्छतालाई मानसपटलबाट मेटेर अर्को चित्र त्यहाँ बलिरहन्छ – सुन्दरी देवी आफ्नो खेतमा ठिङ्ग उभिएकी, माटोको त्यो टुक्रामाथि हक जताउन थपना गरिएकी यक्षिणी जस्ती । खेतमा काम गर्न आएका खेताला र उनका संगीहरूको चटारो अनि जिस्किँदै चुटेको गफ उत्तिकै बोझीलो रहने खेती–किसानीको दिनचर्याको सम्झना गराउँछ । तर झलिक्कै बित्ने त्यो अस्थिर क्षण र त्यसमा क्षीण मेहनतको एउटा सिङ्गो चित्र चाहिँ स्थिर रहन्छ । सुन्दरी देवी ठिङ्ग उभिन्छिन्, आफ्नो भूगोलमाथि तैरिन्छिन् एउटा महाकाया बनेर ।
सुन्दरी देवीको व्यक्तित्वको एउटा पक्ष यस्तो छ जसलाई बुझ्न उनको र उनको जमिनको यो स्थिर, स्थूल प्रतिविम्बको सहारा नलिई सम्भव छैन । उनको यो प्रतिविम्बले उनको स्वाभाव र व्यक्तित्वको सटिक चित्र देखाउँछ – एउटी दृढ नारी जसको दृढता नै पचास वर्ष कटिसकेकी सुन्दरी देवीको जिन्दगीको नयाँ अध्याय बनेको छ – यही प्रभुत्वको छविसँगै सुन्दरी देवी आफूलाई पुनर्जागृत गर्दैछिन् त्र् । अन्यथा उनको जिवनी भूमिहिनता, घरवार विहिनता र अवैधानिकताको परिधिभित्र रचिएको सीमान्तकृतताको असाध्य गाथा थियो ।
सुन्दरी देवी जातले बादी हुन्। बादीहरू आधुनिकताअघिको जुगमा विभिन्न थरिका मनोरञ्जनको जिम्मा पाएका जात हुन्। अनेकौँ पटक उठिबास भएपछि अहिले बादी हरू यस ठाउँमा आएर बसेका छन्। उहिलेको वर्णविभेदी तर्कले भन्थ्यो – बादीहरूले जमिनको स्वामित्व पाए जमिन बाँझो बन्छ । सुन्दरी देवीको भाषामा कुनै अस्पष्ट वर्गले बादीहरूलाई खेतबारीमा टेक्न समेत दिन्न थिए। उनको बालापानको स्मृति दैलेखको त्यो गाउँप्रति अपनत्वको भावनाले ओतप्रोत छैन – उल्टो बाल्यकाल भनेको एक गाउँदेखि अर्को गाउँसम्मको आवारा घुमफिरको अटुट कडीको रुपमा मुद्रित छ स्मृतिपटमा । बादी समुदायकै समग्र अविकसित यथार्थले उनको कथालाई यस्तो स्वरुप दिन्छः “हाम्रो कसैले वास्ता गरेन । माग्ने भिखारीहरू भने। बादीहरूको घर हुँदैन थियो । आफ्नो जमिन नभएपछि कतै बस्ती बनाउनुको पनि अर्थ थिएन। आफ्नो लुगाफाटो पोको पार्यो, जता बाली भित्राउने काम हुँदै थियो, त्यतैतिर लाग्यो। कसैकसैले गोठमा सुत्न दिन्थे, नत्र खेतमा सुत्थ्यौँ, कि डाँडातिर अन्तर कुन्तर खोज्दै जान्थ्यौँ।”
उनको कथा जमिनसँगको नाताको विश्लेषण हो, त्यसैले भूमि, स्रोत, श्रम त्यस कथाका प्रमुख पात्रहरू भएर देखा पर्छन्। शायद, त्यसै कारण उनी वैयक्तिक घोषणालाई पृष्ठभूमिमा राखेर एउटा सामूहिक स्वरको प्रयोग मार्फत सम्पूर्ण समुदायकै कथा भन्छिन्।
“छोरा मान्छेहरूले माछा मार्ने, हुक्का–मादल बनाउने काम गर्थे । हामी आइमाइ चाहिँ त्यही सामान गाउँमा लगेर अन्नसँग साटेर ल्याउँथ्यौँ। ठूलाबडा जातमा बिहे भयो भने हामी सबभन्दा राम्रो लुगा लगाएर जान्थ्यौँ अनि रातभरि नाच्थ्यौँ । अनि भोलिपल्ट विहान त्यस बापत भाग माग्थ्यौँ । लाहुरे खलकहरू ठूलो भाग दिन्थे । त्यस्तै हो, हामी बादीहरूले गुजारा चलाउने तरिका।”
दैलेखका बादीहरूको जीविकोपार्जनका यी अभ्यासहरूको बारेमा सुनाइ नभ्याउँदै सुन्दरी देवी तुरुन्तै आफ्नो बोली आफै काट्छिन् – हामीले काम त कहिल्यै गरेनौँ। काम गर्नै पाइँदैन थियो । उनको लागि श्रम र भूमिको स्वामित्व एक अर्कासँग जोडिएका छन् । विडम्बना के छ भने उनको बाल्यकालका सम्झनाहरूलाई यति अर्थपूर्ण बनाउने काम अतितसँग गाँसिएको यही अर्थहिनताको अमेट आभाषले गरेको छ । उनको कथा एउटा उत्पीडक समाजले सताएर भगाइएको समूहको बारेमा मात्रै हैन – बरु आफूले भोगेका शोषण र उत्पीडनको अनिभवलाई नगन्य बताउने मनःस्थितिको प्रतिफल पनि हो। आफ्नै बाली जमिन र सम्पत्ति अनि कालान्तरमा त पाईएला भन्ने सोचेर उनको समुदायले इतिहासको पानाभरि नै नेपालका खेत गह्रा पछ्याउंदै आजसम्मको यात्रा गरेको थियो ।
हुन त सुन्दरी देवीको यो – र यस्तो प्रकृतिको – कथा नेपाली समाजका तल्ला तह र कथित तल्ला जातका समुदायहरूले अपूर्व महत्वकांक्षा सहितको लोकतान्त्रिक हकअधिकारका लागि लडिरहको बेलामा आएको छ । प्रायः बादीहरू जस्तै उनीलाई पनि अहिलेको फर्किएको जुगमा सरकारबाट के कतिसम्म हक अधिकार पाउन सकिन्छ भन्ने राम्ररी थाहा छ । पछिल्लो वर्ष बादीहरूको अधिकारका बारेमा सरकारमाथि दबाब दिन राजधानीमा ओइरहेको जमातमा उनी पनि थिइन् । साँच्चै भन्ने हो भने उनको जस्तो व्यक्तित्व र स्मृतिको खास सम्मिश्रणको उदय सत्ताको आधुनिक स्वरुपसँग बाल्कायदेखि नै चलिआउको निरन्तर अनि विध्वंशकारी घम्साघम्सी बेगर हुँदैन होला।
पन्ध्र–सोह्र वर्षकै उमेरमा सुन्दरी देवीको बिहे नजिकैको नाता पर्ने दाइसँग भएको थियो। श्रीमानको पहिले बिहेबाट सन्तान थिएन । त्यसबेला दैलेख बजारमा करिब ५०–६० बादीहरू सार्वजनिक जग्गामा बसेका थिए। त्यतिखेर दैलेखमा विदेशीहरू आएको सम्झना छ – “कहिल्यै अमेरिकनहरू देखेको थिएनौँ, अचम्म लाग्थ्यो । हामीलाई भेट्न भनेर आएका थिए, फोटो खिचेर लगे । हामीलाई त लौ, अब यो जग्गाबाट लखेट्न आएछन् जस्तो लाग्यो। त्यही राति झिँटीझाम्टा पोको पारेर गाउँ बाहिर खोलाको तिरमा सर्यौँ । भोलिपल्ट गाउँको मुखिया आएर “अमेरिकनहरू तिमीहरूलाई सुर्खेत बसाइँ सराउन आएका” भने। सुर्खेतमा जग्गा, राशन बाँडेका छन् बादीहरूलाई भने। हामी त तुरुन्तै हिँडिहाल्यौं । सुर्खेतमा पनि त्यही अमेरिकन र एउटा जर्नेललाई देख्यौँ । त्यही जर्नेलले हामीलाई बर्दिया ल्याएर राख्यो र अमेरिकनलाई हुक्का–बत्ती बनाइदिए वापत राशन दियो।
त्यो विकासे बोली र ‘राजा सबको साझा’ जस्ता नाराको जमाना थियो। पञ्चायती व्यवस्था अन्तर्गतका ग्रामीण विकास कार्यक्रमहरू नेपालका कुनाकाप्चामा जोडतोडले आफ्नो प्रभाव स्थापना गर्दै थिए। बीसको दशकमा जब सुन्दरी देवी बर्दिया आइपुगिन् त्यतिबेला सरकारी महत्कांक्षाको गिद्धे दृष्टि तराईमाथि परेको थियो, र नेपालगञ्ज तथा धनगढी जस्ता नयाँ शहरहरू धमाधम विकसित हुँदै थिए। सुन्दरी देवीको कथामा देखिने अमेरिकीहरूको छायाँले अर्को महत्वपूर्ण कुरामाथि प्रकाश पार्छ – राष्ट्रिय विकासको नाममा गरिने कामको अन्तर्राष्ट्रिय पृष्ठभूमि । नेपालमा अमेरिकी, सोभियत, चिनियाँ र भारती अनुदानको ओइरो लाग्न थालिसकेको थियो । भूमिहीनहरूलाई जमिन दिलाउने र भूस्वामित्व सम्बन्धी कानुन फेरेर कसरी उनहिरूलाई स्थायी बसोबास दिन सकिन्छ भन्ने विषयमा अमेरिकीहरू विशेष रुची राख्थे । नेपालको सत्ता चाहिँ कसरी शितयुद्धको चिसो छायाँ सुन्दरी देवीहरू जस्ता जनतामाथि पारेर अनुदानको त्यो ओइरोबाट आफ्नो ढुकुटी भर्ने भन्ने दाउमा थियो ।
तर यो विकासे रमझमको अनुभव भने तीतो छ – सुन्दरी देवीको जिन्दगीले स्थायित्व पाउनुको सट्टा झनै अर्को उत्पीडनको कडी शुरु भयो। सरकारले ल्याएका कार्यक्रमहरू धर्मराए, शक्ति र स्वामित्वको पुरातन संरचनाको शिकार भएर भूमिहीनले पाएको नयाँ जमिन विस्तारै गुमाए । अझै पनि सुन्दरी देवी बस्ने सुकुम्बासी टोलमा सुकुम्बासी र रैथाने हुकुमवासीहरूको बीचमा तनाव कायमै छ । सुन्दरी देवीलाई यो दुई जिब्रे सरकार भनाउँदो जन्तुसँग साह्रै रिस उठ्छ – एकातिर सरकार आफूलाई श्रम र ज्यालाबीचको पुरातन संरचना ध्वसत पार्दै उत्पीडतहरूलाई मुक्ति दिने सर्वेसर्वा, हर्ताकर्ताको रुपमा ठड्याउँछ, तर अर्कोतिर यही सरकार विभेदकारी, अर्धवैधानिक अनि काम चलाउ पाराका कार्यक्रमहरू मार्फत् मात्रै तल्लो वर्गका नागरिकहरूले उठाएका मागलाई सम्बोधन गर्छ ।
तर राज्यसत्तासँगको अन्तर्क्रियाबाट सुन्दरी देवीले उपलब्धि नै नपाएकी पनि हैन – कम्तीमा उनले बादी भएर जन्मँदैमा आफ्नो कुनै हक अधिकार नै रहँदैन भन्ने सोचबाट मुक्ति पाएकी छिन्। राज्यसत्तासँग कसरी वार्तालाप गर्ने, कसरी आफ्नो आवाजलाई सुन्न बाध्य बनाउने भन्ने भाषा पनि पाएकी छिन् । एक दर्जन छोराछोरी कि आमा भएर पनि उनी राजनीतिको भुँमरीमा हाम फालिन् । उनका पति र उनीले पहिले गाविसमा काम गरे । त्यसपछि पतिको नेपाली कांग्रेसभित्रको पहुँच प्रयोग गरेर राजनीतिक प्रभाव स्थापना गर्न सफल भइन् । आजकल सुन्दरी देवी बर्दियाका गाउँहरमा एउटा सशक्त, अधिकारसम्पन्न, नेताको रुपमा दलित र महिलाहरूलाई शोषण र उत्पीडन गर्नेहरूका विरुद्ध आफ्नो न्यायको फैसला सुनाउँदै हिँड्छिन्।
सुन्दरी देवी जस्तो व्यक्तिले आफूलाई यतिसम्म सशक्त र अधिकारसम्पन्न भउको सपना देख्न कस्तो आँट चाहियो होला? कति साहसी यी महिला – अछूतहरूमध्ये पनि अछूत बादी जातमा जन्मिएकी। अहिले यिनै बादी महिला धावा बोल्दैछन् उहिलेका बिष्ट–बडाज्यू, पढेलेखेका शासकहरूको पहिलेका शोषकहरू अनि अहिलेका लोकतन्त्र र जनगणतन्त्रका भरौटेहरूको ढुकुटीमाथि । यस्तो महत्वाकांक्षाले धेरै जोखिम निम्त्याउँछ, तर त्यस्ता जोखिमलाई वास्ता नगर्ने अनस्थितिलाई पनि जन्माउँछ । ‘पछि जे पो होला’– उनी आफ्नो दृष्टिकोणलाई यसरी प्रस्ट्याउँछिन् ।
तसर्थ, सुन्दरी देवीको त्यो छवि – एउटी नारी आफ्नो सानो टुक्रा जमिनमाथि महाकाया भएर उभिएकी । त्यो टुक्रा जमिनको वैधानिक स्वामित्व उनीसँग छैन। तर त्यो छविमा उनको अदम्य स्वाभिमानको झल्को छ । हो – यो स्वाभिमानी अठोटले पनि अर्को कुनै सत्यमाथि मकुण्डो लगाएको छ। राजनीतिको घिनलाग्दो द्वन्द्वबीच आफ्नो पति र छोराहरू गुमाएको दुःख त्यो मकुण्डोले लुकाएको छ। त्यस्तै दुःखद् छ अर्को सत्य – अरु बादी महिलाहरूलाई गरिबी र शोषणको जुन साङ्लाले बाँधेको छ, त्यस बन्धनबाट आफ्ना छोरीहरूलाई उनले छुटाउन सकिनन् । उनको हठधर्मी अनि प्रभावशाली व्यक्तित्वले उनको घर वरिपरि ‘कहिले सुन्दरी देवी कि छोरी उमेरकी होली’ भनेर धाइराख्ने लोग्ने मान्छेहरूलाई धपाउन सकेको छैन । छ–सात जना नातिनातिनाहरू उनकी छोरीहरूले जिम्मा लगाएर गएका छन् । ती बच्चाहरू स्कूलमा आफूप्रति हुने दुर्व्यवहारका कथाहरू लिएर घर फर्किन्छन् । सुन्दरी देवीले आफ्ना नातिनातिनाको लागि देखेको सपना, आकांक्षाहरू झनै कष्टकर छन् – आफ्नो परिवेश कहिल्यै नसुध्रिएला, अथवा नातिनातिनाको पालासम्म पनि नसुध्रिएला भन्ने ठूलो चिन्ता छ । यस्तो चिन्ताले सुन्दरी देवीलाई कहिलेकाहिँ क्रोध र कुण्ठाको पराकाष्ठासम्म पुर्याउँछ। आफू र आफ्नो समुदायमाथि भएको अन्यायको चोट गहिरिन्छ, सुन्दरी देवी आफ्नो विचार स्पष्ट र शक्तिपूर्ण रुपले राख्न सक्छिन् – क्रोधले सुन्दरी देवीको वाणी तिखार्छ, जीवनभरिको रीस एकैचोटि जिब्रोमा आउँछ। तर एकै निमेषमा त्यो आँधी पनि थामिन्छ, अनि सुन्दरी देवी आफ्नो परिवेशको पूर्ण नियन्त्रण लिएर खडा हुन्छिन् उनको त्यस छविमा सुन्दरी देवीको जीवनको सम्पूर्ण आंधीबेहेरी बिर्साउँछ रहन्छ त् सम्झना – सुन्दरी देवीले आफ्नो भूगोल ढपक्क ढाकेको । एउटी हठी, अदम्य महाकाया बनेर ।
______________________________________
यो फोटो कथा र लेख फोटो.सर्कलले प्रकाशन गरेको पुस्तक हाम्रा हजुराआमामा प्रकाशित भएको थियो